उदयपुर सिमेन्टका पूर्वमहाप्रबन्धक पौडेलसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा, ४६ करोडसम्मको बिगो दाबी

काठमाडौँ, १८ माघ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उदयपुर सिमेन्ट उद्योग लिमिटेडका तत्कालीन महाप्रबन्धक सुरेन्द्रकुमार पौडेलसहित आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

महाप्रबन्धकको जिम्मेवारीमा रहँदा अनियमितता गरेको आरोपमा आयोगले आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

आयोगले पौडेलसहित तत्कालीन निमित्त महाप्रबन्धक नवल किशोर साह, नायव महाप्रबन्धक महेश काफ्ले, उत्पादन महाशाखा प्रमुख सञ्जयकुमार लाल, भण्डार महाशाखा प्रमुख महेश साह, उत्पादन विभागका प्रमुखद्वय रविचन्द्र पौडेल र हरि अधिकारी तथा बिक्री विभाग प्रमुख रामबहादुर जिसीलाई प्रतिवादी बनाएको छ ।

अख्तियारले प्रतिवादीहरूमाथि १२ करोडदेखि ४६ करोड रुपैयाँसम्म राज्यको सम्पत्ति हिनामिना गरेको अभियोग लगाएको छ ।

आयोगका अनुसार तत्कालीन महाप्रबन्धक सुरेन्द्रकुमार पौडेल र नायव महाप्रबन्धक महेश काफ्लेमाथि १२ करोड ६३ लाख रुपैयाँ भ्रष्टाचार गरेको आरोप छ । यस्तै, अन्य प्रतिवादीहरूमाथि ४६ करोड ५२ लाख रुपैयाँ बराबरको बिगो दाबी गरिएको छ ।

उद्योगको व्यवस्थापनमा रहँदा खरिद प्रक्रिया र उत्पादनमा व्यापक अनियमितता गरी भ्रष्टाचार गरेको निष्कर्षसहित आयोगले उनीहरूमाथि कैद र बिगो बमोजिमको जरिवाना माग गरेको छ ।