राष्ट्रियसभामा आज सामाजिक सञ्जाल विधेयक फिर्तासम्बन्धी प्रस्ताव प्रस्तुत गरिने

काठमाडौँ, २३ माघ । राष्ट्रियसभाको आजको बैठकमा ‘सामाजिक सञ्जाल विधेयक, २०८१’ फिर्ता लिने प्रस्ताव प्रस्तुत गरिने भएको छ। प्रधानमन्त्री एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री सुशीला कार्कीले सो विधेयक फिर्ता लिने सम्बन्धी प्रस्ताव बैठकमा पेश गर्नुहुने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।

मन्त्रिपरिषद्को गत मंगलबारको बैठकले उक्त विधेयक फिर्ता लिन स्वीकृति दिने निर्णय गरेको थियो। यो विधेयक राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिमा विचाराधीन अवस्थामा रहेको थियो।

आजको बैठकमा प्रधानमन्त्री कार्कीले ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१’ माथि विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित छलफल गरियोस् भनी प्रस्ताव गर्नुका साथै उक्त विधेयक पारितका लागि समेत प्रस्ताव पेश गर्नुहुनेछ।

यस्तै, बैठकमा राष्ट्रिय निकुञ्जसँग सम्बन्धित नीतिगत समस्याहरूको अध्ययन प्रतिवेदनमाथि पनि छलफल हुने कार्यक्रम छ। सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिका सभापति मायाप्रसाद शर्माले सो प्रतिवेदन प्रस्तुत गर्नुहुनेछ।

यसैबीच, विधायन व्यवस्थापन समितिमा ‘अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक’ माथि आजै दफावार छलफल सुरु हुँदैछ। राष्ट्रियसभाको पूर्ण बैठक भने आज अपराह्न १:१५ बजेका लागि तय गरिएको छ।