मतदाता शिक्षाका लागि देशभर स्वयंसेवक खटाउने निर्वाचन आयोगको निर्णय

काठमाडौँ, २३ माघ । निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा निर्वाचनमा मत बदर हुन नदिन देशभरका सबै वडामा मतदाता शिक्षा स्वयंसेवक खटाउने भएको छ।

जिल्ला निर्वाचन कार्यालयमार्फत मुलुकभरका ६ हजार ७४३ वटै वडामा स्वयंसेवक परिचालन गर्न लागिएको आयोगले जनाएको छ।

आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीका अनुसार अनुभवी बाल विकास सहजकर्ता, महिला स्वास्थ्य स्वयंसेविका वा सामुदायिक परिचालनमध्येबाट स्वयंसेवक छनोट गरी नियुक्ति प्रक्रिया अघि बढाइएको छ। स्वयंसेवकहरूले घरदैलोमा पुगेर मतदातालाई सही तरिकाले मत सङ्केत गर्न र निर्वाचनको महत्वबारे जानकारी दिनेछन्।

राष्ट्रियसभा निर्वाचनमा देखिएको बदर मतको समस्यालाई मध्यनजर गर्दै आयोगले यो कार्यक्रमलाई विशेष प्राथमिकतामा राखेको हो। जसअनुसार फागुन ३ गते सातै प्रदेशमा अनुशिक्षण कार्यक्रम सञ्चालन गरिनेछ भने फागुन पहिलो साताभित्रै सबै वडामा स्वयंसेवकहरू परिचालन भइसक्नेछन्। आयोगले यसअघि माघ १९ गते नै मतदाता शिक्षासम्बन्धी कार्ययोजना स्वीकृत गरिसकेको छ।