पार्टी आबद्ध परिवारका छोराछोरीहरूको सम्मेलन सबै कमिटीले आयोजना गर्ने घोषणा एमालेको घोषणा

काठमाडौं, २१ जेठ ।  नेकपा (एमाले) केन्द्रीय संगठन विभागको आयोजनामा बुधबारबाट सुरु भएको ‘सदस्यता नवीकरण तथा विस्तार–उत्प्रेरणा कार्यशाला’ दश बुँदे संकल्प प्रस्तुत गर्दै सम्पन्न भएको छ । संकल्प प्रस्तावमा पार्टीको संगठित सदस्यता अनलाइन नवीकरणको कार्यलाई सम्बन्धित व्यक्तिको प्रत्यक्ष उपस्थितिमा अविलम्ब अगाडि बढाउने घोषणा गरेको उल्लेख छ । त्यसैगरी १ संगठित सदस्यले न्यूनतम ३ नयाँ पार्टी सदस्य तयार गर्ने संकल्प पनि पारित गरिएको छ । ‘यो कार्यशाला गत प्रतिनिधिसभाको निर्वाचनमा मत परिवर्तन गरेका मतदाताहरूलाई पुनः पार्टीका सकृय हुन आह्वान गर्दछ,’ संगठन विभाग प्रमुखको नामबाट जारी गरिएको संकल्प प्रस्तावमा भनिएको छ, ‘यो कार्यशाला ‘ठिक समय एमाले समय’ भन्ने नारालाई यथार्थमा रूपान्तरित गर्न हरेक कार्यक्रम तोकिएको समयमा आरम्भ गर्ने संकल्प गर्दछ।’

त्यसैगरी कार्यशालाबाट पारित गरेको प्रस्तावमा विज्ञान तथा प्रविधिको क्रान्ति र सामाजिक सञ्जालको प्रयोगमा आफ्नो सकृय उपस्थिति जनाउँदै पार्टी जीवनलाई डिजिटल क्रान्तिमा रूपान्तरित गर्ने संकल्प पनि गरिएको छ । ‘यो कार्यशाला सदस्यता नवीकरणको कामलाई अविलम्ब सम्पन्न गरी टोलदेखि वडा, पालिका, जिल्ला, प्रदेश हुँदै सिंगो पार्टीलाई पुनर्जागृत गर्ने संकल्प गर्दछ,’ प्रस्तावमा भनिएको छ, ‘यो कार्यशाला पार्टी आबद्ध जनसंगठनहरूलाई आफ्नो समुदायका मुद्दाहरूको नेता संगठन बनाउने र सांगठनिक रूपमा केन्द्रदेखि आधारसम्म पुनर्गठन गर्न आवश्यक समन्वय गर्ने प्रतिबद्धता जाहेर गर्दछ।’
कार्यशालाले नयाँ पुस्तासँग अन्तरसंवाद कार्यक्रमको आयोजना गरी पार्टी आबद्ध परिवारका छोराछोरीहरूको सम्मेलन सबै कमिटीले आयोजना गर्ने घोषणा पनि गरेको छ । ‘यो कार्यशाला केन्द्रीय सम्पर्क समन्वय समिति र यस मातहतको संरचनालाई उच्च महत्वका साथ परिचालन गरी भूगोल र उपत्यकाको पार्टी कामलाई अझै प्रभावकारी रूपमा सञ्चालन गर्ने संकल्प गर्दछ,’ प्रस्तावमा भनिएको छ, ‘यो कार्यशाला हरेक कमिटीले अनलाइन र सामाजिक सञ्जालका विभिन्न माध्यमको प्रयोग गरी प्रवास समितिले सम्पर्कमा राख्ने र स्थानीय कमिटीहरूले पनि प्रवासमा रहेका युवाहरूको समूह निर्माण गरी निरन्तर सम्पर्कमा राख्ने र उनीहरूको अनुभव र विज्ञताको उपयोग गर्ने रणनीति लिने संकल्प गर्दछ।’