अख्तियार दुरुपयोग राज्यको वैधानिकता र सामाजिक न्यायमाथिको गम्भीर चुनौती : राष्ट्रपति पौडेल
काठमाडौँ, २८ माघ । राष्ट्रपति रामचन्द्र पौडेलले अख्तियारको दुरुपयोग कुनै सामान्य त्रुटि नभई राज्यको वैधानिकता र सामाजिक न्यायमाथिको गम्भीर चुनौती भएको बताउनुभएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३५औँ स्थापना दिवसका अवसरमा बुधबार आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो धारणा व्यक्त गर्नुभएको हो ।
राष्ट्रपति पौडेलले शक्ति र पदमा हुँदैमा कोही पनि व्यक्ति कानुनी जवाफदेहिताबाट मुक्त हुन नसक्ने बताउनुभयो । “शक्ति र पद हुँदैमा जो कोही कानुनी जवाफदेहिताबाट मुक्त हुँदैन भन्ने विश्वास आम नागरिकमा दिलाउने गरी काम गर्न म आयोगलाई आग्रह गर्दछु,” उहाँले भन्नुभयो, “आज आत्मसन्तुष्ट हुने समय होइन, नागरिकको भरोसा जित्ने समय हो ।”
भ्रष्टाचार केवल कानुनको उल्लङ्घन मात्र नभई नागरिकको आस्था, विश्वास र भविष्यका सपनामाथि गरिने गहिरो आघात भएको राष्ट्रपतिको तर्क थियो । उहाँले भन्नुभयो, “जब सार्वजनिक शक्ति व्यक्तिगत स्वार्थका लागि प्रयोग गरिन्छ, तब राज्य र नागरिकबीचको भरोसाको सेतुमा चोट पुग्छ । यसले शासन प्रणालीप्रति निराशा जन्माउँछ र लोकतन्त्रको आधारभूत मूल्यलाई क्षति पुर्याउँछ ।”
सत्ता, शक्ति र धन प्राप्तिको अनावश्यक मोहले मानिसलाई भ्रष्टाचारतर्फ धकेल्ने बताउँदै राष्ट्रपति पौडेलले आचरण र व्यवहारमा सुधार ल्याउन सके भ्रष्टाचार निर्मूल गर्न सकिने विश्वास व्यक्त गर्नुभयो । सदाचार, नैतिकता, निष्पक्षता र पारदर्शितालाई जीवन पद्धतिको रूपमा अगाडि बढाउनुपर्नेमा उहाँले जोड दिनुभयो ।
सुशासन र पारदर्शिताबिना लोकतन्त्रको प्रतिफल जनताको घरदैलोमा पुग्न नसक्ने बताउँदै उहाँले हालैका दिनमा युवा पुस्ताले आन्दोलनमार्फत सुशासनको चाहना प्रकट गरेको स्मरण गराउनुभयो ।
राष्ट्रपति पौडेलले भ्रष्टाचारविरुद्धको लडाइँ कुनै एउटा संस्थाको मात्र नभई राज्यका सबै अङ्ग, राजनीतिक नेतृत्व र नागरिक समाजको संयुक्त जिम्मेवारी भएको बताउनुभयो ।