३९ मतदाताका लागि हिउँसँग सङ्घर्ष: ४५०० मिटर उचाइमा रहेको मुस्ताङको साङ्ता मतदान केन्द्र जोड्ने सडक खोलिँदै
मुस्ताङ, १३ फागुन । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मुस्ताङको सबैभन्दा विकट र उच्च स्थानमा रहेको साङ्ता मतदान केन्द्र जाने सडकको हिउँ पन्छाउन सुरु गरिएको छ । वारागुङ मुक्तिक्षेत्र–५ मा पर्ने यो क्षेत्रमा हिमपातका कारण विगत ४ महिनादेखि यातायात पूर्ण रूपमा ठप्प थियो ।
वारागुङ मुक्तिक्षेत्र–५ का वडाध्यक्ष सुरेन्द्र गुरुङका अनुसार निर्वाचनका लागि कर्मचारी र सुरक्षाकर्मी पुग्न अनिवार्य भएकाले मुस्ताङ–डोल्पा जोड्ने यो सडकको हिउँ मङ्गलबारदेखि पन्छाउन थालिएको हो । गत कात्तिक १० गतेदेखि नै यो सडकखण्ड बाक्लो हिउँले पुरिएर अवरुद्ध बनेको थियो ।
समुन्द्री सतहदेखि चार हजार ५०० मिटरको उचाइमा अवस्थित साङ्ता गाउँलाई मुस्ताङको ‘सबैभन्दा पछि पत्ता लागेको गाउँ’ का रूपमा चिनिन्छ । यहाँको हिमाली आधारभूत विद्यालयमा मतदान केन्द्र तोकिएको छ, जहाँ कुल ३९ जना मतदाता रहेका छन् । सदरमुकाम जोमसोमदेखि करिब ४० किलोमिटरको दूरीमा रहे पनि भौगोलिक विकटताका कारण यहाँ पुग्न निकै कठिन छ ।
अहिले साङ्ता गाउँ लगभग ‘गुमनाम’ र सुनसान जस्तै छ । यहाँका १३ घरधुरीका बासिन्दाहरू मङ्सिर अगावै अत्यधिक चिसो छल्न जोमसोम, पोखरा र काठमाडौँ झरेका छन् । गाउँमा अहिले केही पशुचौपाया हेर्ने गोठालाहरू मात्र बाँकी छन् ।
सामान्यतया चैत–वैशाखमा मात्र गाउँ फर्किने यहाँका बासिन्दाहरूलाई यसपटक फागुन २१ को निर्वाचनका लागि मतदान गर्न समय अगावै गाउँ पुग्नुपर्ने बाध्यता छ । बाटो खुलेसँगै मतदाताहरू गाउँ फर्किने अपेक्षा गरिएको छ ।
केही दिनअघि मुस्ताङका अधिकांश मतदान केन्द्रहरूको स्थलगत अनुगमन गरेको जिल्ला सुरक्षा समितिको टोली साङ्ता भने पुग्न सकेको थिएन । बाटोमा जमेको हिउँका कारण सुरक्षा टोली आधा बाटोबाटै फर्किनुपरेको थियो । अहिले हिउँ पन्छाउने काम सकिएलगत्तै सुरक्षा टोलीले यस केन्द्रको अन्तिम अनुगमन गर्ने र निर्वाचन सामग्री पुर्याउने तयारी गरेको छ ।
हिउँ पन्छाएर सडक सुचारु गरेपछि ३९ जना मतदाताले आफ्नो मताधिकार प्रयोग गर्न पाउने सुनिश्चित हुने स्थानीय प्रशासनले जनाएको छ ।