म्याग्दीको २२.५ मेगावाट क्षमताको अपर ठूलोखोला जलविद्युत् आयोजना केन्द्रीय ग्रीडमा जोडियो
काठमाडौँ, चैत १ । म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ मा निर्मित २२.५ मेगावाट क्षमताको ‘अपर ठूलोखोला’ जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् केन्द्रीय प्रसारण लाइनमा जोडिएको छ । ठूलोखोला हाइड्रोपावर लिमिटेडद्वारा प्रवर्द्धित यस आयोजनाको निर्माण, उपकरण जडान र आन्तरिक परीक्षण सम्पन्न भएसँगै राष्ट्रिय प्रणालीमा विद्युत् प्रवाह सुरु भएको हो । आयोजनाका प्रमुख शिवसागर यादवका अनुसार, नेपाल विद्युत् प्राधिकरणको प्राविधिक टोलीको उपस्थितिमा पाँच दिनसम्म गरिएको परीक्षण सफल भएपछि गत फागुन २९ गतेदेखि विद्युत् केन्द्रीय लाइनमा पठाइएको हो। परीक्षणको अवधि समाप्त भएपछि आगामी १५ दिनभित्र आयोजनाले व्यावसायिक रूपमा विद्युत् उत्पादन सुरु गर्ने लक्ष्य राखेको छ। सुक्खायामका कारण हाल आयोजनाबाट १३.८६ मेगावाट विद्युत् उत्पादन भइरहेको छ।
वि.सं. २०८० बाट निर्माण सुरु भएको यो आयोजना अत्यन्तै विकट भौगोलिक क्षेत्रमा अवस्थित छ। आयोजनाअन्तर्गत सुगुरथलामा बाँध र पानी थिग्राउने पोखरी (डिसेन्डर) निर्माण गरिएको छ भने २ हजार ९०० मिटर मुख्य पाइपलाइन र ३०० मिटर सर्च साफ्टमार्फत पानी विद्युत्गृहमा पुर्याइएको छ। दुईवटा टर्वाइन रहेको विद्युत्गृह परिसरमा आवश्यक स्वीचयार्ड समेत निर्माण गरिएको इन्जिनियर सञ्जीव न्यौपानेले जानकारी दिनुभयो।
उत्पादित विद्युत्लाई फेदीदेखि बन्दीसम्म निर्माण गरिएको ६ किलोमिटर लामो १३२ केभी प्रसारण लाइन र त्यहाँबाट अन्य आयोजनाहरूसँगको सहकार्यमा २२० केभी क्षमताको दाना–खुर्कोट प्रसारण लाइनमार्फत केन्द्रीय प्रणालीमा जोडिएको छ। फेदीदेखि तिल्केनीचौरसम्मको कुल प्रसारण लाइनको दूरी २३.५ किलोमिटर रहेको छ।
कुल ५ अर्ब १४ करोड रुपैयाँ लागत अनुमान गरिएको यस आयोजनामा सिटिजन्स, माछापुच्छ्रे र कृषि विकास बैंकले ७० प्रतिशत ऋण लगानी गरेका छन्। बाँकी ३० प्रतिशतमध्ये १० प्रतिशत प्रवर्द्धकको र २० प्रतिशत सर्वसाधारणका लागि सेयर जारी गरी लगानी जुटाइने कम्पनीले जनाएको छ। निर्माणका क्रममा सडक स्तरोन्नति र मनसुनी पहिरोका कारण उपकरण ढुवानीमा निकै समस्या झेल्नुपरेको आयोजनाले बताएको छ ।
राहुघाट र यसका सहायक नदीहरूमा जलविद्युत् उत्पादनको लहर चलेको छ । यसअघि ३५.५ मेगावाटको चिमखोला–राहुघाट–मङ्गले र ४८.५ मेगावाटको अपर राहुघाट सञ्चालनमा आइसकेका छन् भने २१.३ मेगावाटको ठूलोखोला आयोजनाले गत भदौदेखि नै व्यावसायिक उत्पादन थालिसकेको छ। यस्तै, नेपाल विद्युत् प्राधिकरणको ४० मेगावाटको राहुघाट जलविद्युत् आयोजना पनि निर्माणको अन्तिम चरणमा पुगेको छ ।