कञ्चनपुरमा कुकुरको आतङ्क: भीमदत्त नगरपालिकामा एकैदिन १७ जना घाइते
कञ्चनपुर, १ चैत । कञ्चनपुरको भीमदत्त नगरपालिकामा कुकुरको टोकाइबाट एकैदिन १७ जना घाइते भएका छन् । भीमदत्त नगरपालिका–४ स्थित बजार क्षेत्रका विभिन्न स्थानमा आइतबार एउटै कुकुरले सर्वसाधारणमाथि अन्धाधुन्ध आक्रमण गरेको हो ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक (डिएसपी) हेमबहादुर शाहीका अनुसार कुकुरको टोकाइबाट घाइते भएका १७ जनाकै महाकाली प्रादेशिक अस्पताल, महेन्द्रनगरमा उपचार भइरहेको छ । बजारका विभिन्न गल्लीमा हिँडिरहेका मानिसहरूलाई कुकुरले एक्कासि टोक्न थालेपछि केही समय स्थानीयवासी त्रसित बनेका थिए ।
प्रहरी र स्थानीयको सक्रियतामा उक्त कुकुरलाई नियन्त्रणमा लिइएको छ । नियन्त्रणमा लिइएको कुकुरलाई आवश्यक परीक्षण र व्यवस्थापनका लागि भेटिनरी अस्पतालमा बुझाइएको डिएसपी शाहीले जानकारी दिनुभयो ।
गर्मी मौसम सुरु भएसँगै सडकमा छाडिएका कुकुरहरूमा रिस उठ्ने र टोक्ने समस्या देखिन सक्ने भन्दै चिकित्सकहरूले सावधानी अपनाउन र कुकुरले टोकेमा तुरुन्तै अस्पताल पुगेर रेबिजविरुद्धको सुई लगाउन सुझाव दिएका छन् ।