घूस र सम्पत्ति शुद्धीकरण प्रकरण : राजस्वका पूर्वमहानिर्देशक अधिकारीविरुद्ध विशेष अदालतमा मुद्दा

काठमाडौँ,  चैत १ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीविरुद्ध ७० लाख रुपैयाँ घूस लिएको र उक्त रकम सम्पत्ति शुद्धीकरण गरेको अभियोगमा आज विशेष अदालतमा मुद्दा दायर गरेको छ । राजस्व चुहावटसम्बन्धी अनुसन्धानका क्रममा व्यवसायीलाई सहुलियत मिलाइदिने प्रलोभन देखाई अधिकारीले मोटो रकम असुल गरेको आयोगको ठहर छ ।

आयोगका अनुसार अधिकारीले ‘एच के इन्टरप्राइजेज प्रालि’ का सञ्चालक श्रीकृष्ण श्रेष्ठ बिज्यूबाट ७० लाख रुपैयाँ घूस लिएका थिए । विभागमा दर्ता रहेको राजस्व चुहावटसम्बन्धी मुद्दा र अन्य सम्भावित कानुनी कारबाहीबाट बचाउन सहजीकरण गरिदिने सर्तमा उक्त रकम लेनदेन भएको अनुसन्धानबाट खुलेको छ ।

अधिकारीले घूसबापतको रकम प्रत्यक्ष रूपमा नलिन विभिन्न व्यक्ति र बैंकिङ प्रणालीको प्रयोग गरेको भेटिएको छ । उनले विकास चापागाईं, देवेन्द्र केसी र रवीन्द्र लामिछानेसँगको मिलेमतोमा उक्त रकमलाई वैध देखाउने प्रयास गरेका थिए ।

आयोगको विज्ञप्तिमा उल्लेख भएअनुसार, उक्त रकमलाई ग्लोबल आइएमई बैंक, लुम्बिनी विकास बैंक र लक्ष्मी सनराइज बैंकका विभिन्न खाताहरूमा पटक–पटक स्थानान्तरण गरी ‘लेयरिङ’ (तहीकरण) गरिएको थियो । यसरी घुमाउरो बाटोबाट स्रोत लुकाएर अवैध धनलाई वैध बनाउने प्रयास गरिएको आयोगको दाबी छ ।

अनुसन्धानका क्रममा घूसको रकम घरजग्गा र व्यापारिक कर्जा चुक्तामा समेत प्रयोग भएको तथ्य फेला परेको छ । भक्तपुरको मध्यपुर थिमिस्थित दिव्यश्वरी आयोजना क्षेत्रभित्रको कित्ता नं ९९८ को करिब १६४ वर्गमिटर जग्गा खरिदमा घूसको रकम खर्च गरिएको पाइएको छ । अधिकारीले देवेन्द्र केसी संलग्न रहेको पर्यटन व्यवसाय ‘द कुटी रिसोर्ट’ को बैंक ऋण तिर्न समेत उक्त रकम प्रयोग गरेको प्रमाण संकलन गरिएको छ ।

भ्रष्टाचार गरी आर्जन गरेको रकमलाई विभिन्न माध्यमबाट शुद्धीकरण गर्ने प्रयास गर्नु गम्भीर अपराध भएको ठहर गर्दै आयोगले अधिकारी र उनीसँग मिलेमतो गर्ने अन्य व्यक्तिहरूलाई समेत प्रतिवादी बनाएर मुद्दा दायर गरेको छ । आयोगले बिगो बमोजिमको जरिवाना र कैद सजायको मागदाबी गर्दै विशेष अदालतमा आरोपपत्र पेस गरेको हो ।