साताको पहिलो दिन नेप्सेमा सामान्य सुधारः साढे १४ अर्बको कारोबार, व्यापार समूहमा उछाल

काठमाडौं, १ चैत्र । साताको पहिलो कारोबार दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार आएको छ। आज नेप्से परिसूचक ४.४५ अङ्कले बढेर २,८२४.९० को विन्दुमा पुगेर बन्द भएको छ।

बजारमा सामान्य वृद्धि भए पनि कारोबार रकम भने उत्साहजनक देखिएको छ। नेप्सेका अनुसार आज ३५० वटा कम्पनीका ३ करोड ९५ लाख ४९ हजार ३३ कित्ता सेयर किनबेच भएका छन्। कुल १ लाख २४ हजार ४९० पटक भएको खरिदबिक्रीबाट १४ अर्ब ३२ करोड ९६ लाख ४ हजार ३१५ रुपैयाँ बराबरको ठूलो कारोबार भएको छ।

आज कारोबारमा आएकामध्ये अधिकांश उपसमूहको सूचक बढेको छ। सबैभन्दा बढी व्यापार समूहमा २.८३ प्रतिशतको वृद्धि देखिएको छ।

त्यसैगरी, बैंकिङ ०.२१, विकास बैंक ०.७४, वित्त ०.२२, जलविद्युत् ०.०६, उत्पादन तथा प्रशोधन ०.१२, लघुवित्त ०.१५, निर्जीवन बिमा ०.१६ र अन्य समूह ०.०३ प्रतिशतले बढेका छन्।

यता, होटल तथा पर्यटन समूह ०.६२ प्रतिशतले घट्दा लगानी ०.५४, जीवन बिमा ०.४६ र म्युचुअल फन्ड समूह ०.२५ प्रतिशतले ओरालो लागेका छन्।

आजको बजारमा सोलु हाइड्रोपावर लिमिटेडका लगानीकर्ताले सर्वाधिक कमाएका छन्। यस कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। उता, दरमखोला हाइड्रो इनर्जी लिमिटेडको सेयर मूल्यमा भने नकारात्मक सर्किट लागेको छ।

कारोबार रकम र भोल्युमका आधारमा आज ग्रिनलाइफ हाइड्रोपावर लिमिटेड अग्रस्थानमा रहेको छ। यस कम्पनीको २७ लाख २१ हजार ९८० कित्ता सेयर खरिदबिक्री हुँदा ८१ करोड १ लाख २१ हजार २०१ रुपैयाँ बराबरको सर्वाधिक कारोबार भएको छ।