कुवेतमा रहेका नेपालीलाई साउदी मार्ग हुँदै स्वदेश फर्किन दूतावासको आग्रह

काठमाडौँ, चैत १ । कुवेतस्थित नेपाली दूतावासले त्यहाँ रहेका र नेपाल फर्किन चाहने नेपाली नागरिकहरूलाई साउदी अरबको मार्ग प्रयोग गरी स्वदेश जान अनुरोध गरेको छ । मध्यपूर्वमा विकसित पछिल्लो परिस्थितिलाई दृष्टिगत गर्दै दूतावासले आज एक विज्ञप्ति जारी गरी यस्तो वैकल्पिक मार्गको सुझाव दिएको हो । दूतावासका अनुसार साउदी अरबको विमानस्थल प्रयोग गरी नेपाल जान चाहने कुवेतमा बसोबास गर्ने नेपालीहरूले पहिले अनलाइनमार्फत साउदी भिसाका लागि आवेदन दिनुपर्नेछ । अनलाइनबाट भिसा प्राप्त भएपछि कुवेतबाट सडकमार्ग हुँदै साउदी अरब प्रवेश गर्न र त्यहाँका विभिन्न विमानस्थलहरूबाट नेपालका लागि उडान भर्न सकिने दूतावासले स्पष्ट पारेको छ ।

“मध्यपूर्वमा विकसित विद्यमान परिस्थितिलाई दृष्टिगत गर्दै साउदी अरेबियाको विमानस्थल हुँदै नेपाल जान चाहने नेपाली नागरिकले अनलाइनमार्फत साउदी भिसाका लागि आवेदन दिन सक्नुहुनेछ,” विज्ञप्तिमा भनिएको छ, “भिसा प्राप्त भएपश्चात् सडकमार्गबाट साउदी प्रवेश गरी त्यहाँको विमानस्थल हुँदै नेपाल जान सकिने भएकाले आवश्यक प्रक्रिया पुर्‍याई आवेदन दिनुहुन अनुरोध छ ।”

क्षेत्रीय तनाव वा हवाई मार्गमा पर्न सक्ने सम्भावित अवरोधका कारण दूतावासले आफ्ना नागरिकहरूको सुरक्षित र सहज यात्राका लागि यो विकल्प अघि सारेको हो ।