हायात होटल तोडफोड र क्यासिनो लुटपाट प्रकरण: दुई अभियुक्त पक्राउ
काठमाडौँ, चैत १ । बौद्धस्थित हायात होटलमा तोडफोड तथा प्राइड क्यासिनोमा लुटपाट र आगजनी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । गत भदौ २४ गते ‘जेनजी’ आन्दोलनका नाममा भएको उक्त हिंसात्मक घटनामा संलग्न रहेको भन्दै जिल्ला प्रहरी परिसर काठमाडौँले उनीहरूलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो । पक्राउ पर्नेहरूमा काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका-४ घर भई हाल काठमाडौँको बौद्ध बस्ने ३७ वर्षीय कुलध्वज लामा र काभ्रेकै तेमाल गाउँपालिका–८ घर भई बौद्ध बस्ने राकेश लामा रहेका छन् ।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक (एसपी) पवनकुमार भट्टराईका अनुसार पक्राउ परेका दुवै व्यक्तिहरूको आपराधिक पृष्ठभूमि रहेको पाइएको छ । अनुसन्धानका क्रममा कुलध्वज लामाविरुद्ध यसअघि सार्वजनिक अपराध र ज्यान मार्ने उद्योगलगायतका ५ वटा मुद्दा दर्ता भएको देखिएको छ ।
त्यसैगरी, अर्का अभियुक्त राकेश लामाविरुद्ध सार्वजनिक अपराध, अपहरण तथा शरीर बन्धक र अभद्र व्यवहार जस्ता गम्भीर प्रकृतिका ७ वटा मुद्दा दर्ता भइसकेको प्रहरीले जनाएको छ ।
भदौ २४ गतेको आन्दोलनका क्रममा उनीहरूले होटलमा भौतिक क्षति पुर्याउनुका साथै क्यासिनोभित्र पसेर धनमाल लुटपाट र आगजनी गरेको प्रहरीको दाबी छ । पक्राउ परेका दुवै जनालाई हिरासतमा राखी प्रहरी वृत्त बौद्धमार्फत थप कानुनी कारबाही र अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रवक्ता भट्टराईले जानकारी दिनुभयो ।