बाढीले बगाएको गरगहना भेटेर लुकाउने धादिङमा पक्राउ
काठमाडौँ, भदौ २७ । भोटेकोशी-त्रिशूली नदीमा आएको बाढीले बगाएर ल्याएको गरगहना फेला पारी लुकाएको आरोपमा धादिङ प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा गजुरी गाउँपालिका-६, बन्छेटारका ३५ वर्षीय रामबहादुर तामाङ रहेका छन् ।
गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको भीषण बाढीले नुवाकोटको विदुर नगरपालिका-१ का लीलाबहादुर बोगटीको घर बगाएको थियो । सोही क्रममा बगेका गरगहना तामाङले भदौ ११ गते फेला पारेका थिए । भेटिएका गहना सम्बन्धित धनी वा प्रहरीलाई जानकारी नदिई आफ्नै घरमा लुकाएर राखेको सूचना पाएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता डीएसपी प्रकाश दाहालका अनुसार तामाङको साथबाट सुनका तीन टुक्रा बाला, दुई थान झुम्का, दुई थान सिक्री, दुई थान औँठी, दुई थान मङ्गलसूत्र र चाँदीका दुई जोर पाउजु बरामद गरिएको छ ।
पक्राउ परेका तामाङमाथि चोरीसम्बन्धी कसुरमा इलाका प्रहरी कार्यालय गजुरीले थप अनुसन्धान अगाडि बढाएको छ ।