समानुपातिकतर्फका उम्मेदवारको नामावली रुजु प्रक्रिया सुरु: त्रुटि नभए भोलि नै सार्वजनिक हुने

काठमाडौँ,  चैत १ । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीतर्फ राजनीतिक दलहरूले बुझाएको निर्वाचित उम्मेदवारहरूको नामावली रुजु गर्ने प्रक्रिया अघि बढाएको छ । फागुन २१ गते सम्पन्न निर्वाचनमा तीन प्रतिशतको ‘थ्रेसहोल्ड’ कटाएका ६ वटा दलले ११० सिटका लागि पेस गरेको नामावलीमा क्लष्टर (समावेशी समूह) मिले/नमिलेको जाँच आयोगले सुरु गरेको हो ।

समानुपातिकतर्फ कुल १ करोड १२ लाख ८० हजार ६१७ मत खसेकोमा १ करोड ८ लाख ३५ हजार २५ मत सदर भएको थियो । सोही सदर मतका आधारमा सिट बाँडफाँट गर्दा सबैभन्दा धेरै मत प्राप्त गर्ने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ५७ जनाको सूची पेस गरेको छ ।

  • नेपाली कांग्रेस: २० जना

  • नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी लेनीनवादी): १६ जना

  • नेपाली कम्युनिस्ट पार्टी (नेकपा): ९ जना

  • श्रम संस्कृति पार्टी: ४ जना

  • राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा): ४ जना

आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले दलहरूले बुझाएको सूचीमा कानुन बमोजिम तोकिएका विभिन्न समावेशी समूहहरूको प्रतिनिधित्व सुनिश्चित भए/नभएको विषयमा सुक्ष्म अध्ययन भइरहेको जानकारी दिनुभयो ।

“दलहरूले बुझाएको नामावलीमा कुनै त्रुटि नभए सोमबार नै निर्वाचित सांसदहरूको अन्तिम सूची सार्वजनिक गर्ने तयारी छ,” प्रवक्ता जिसीले भन्नुभयो, “यदि क्लष्टर नमिल्दा वा अन्य प्राविधिक त्रुटि देखिएर सच्याउनुपर्ने अवस्था आएमा भने अन्तिम नतिजाका लागि थप तीन दिनसम्म समय लाग्न सक्छ ।”

निर्वाचन आयोगले सबै प्रक्रिया पूरा गरी नामावली प्रमाणीकरण गरेपछि मात्र निर्वाचित भएको प्रमाणपत्र प्रदान गर्ने र राष्ट्रपतिसमक्ष प्रतिवेदन पेस गर्ने कानुनी प्रावधान रहेको छ ।