वीर अस्पतालमा महिलाका लागि निःशुल्क क्यान्सर परीक्षण सुरु, कार्यवाहक प्रमुख डङ्गोलद्वारा शुभारम्भ

काठमाडौँ, १६ चैत । वीर अस्पतालमा आजदेखि महिलाहरूका लागि निःशुल्क क्यान्सर परीक्षण सेवा सुरु गरिएको छ । काठमाडौँ महानगरपालिका र अस्पतालबीचको सहकार्यमा महिलामा हुनसक्ने स्तन, पाठेघर र सर्भाकल क्यान्सरको निःशुल्क स्क्रिनिङ सुरु गरिएको हो ।

यो विशेष अभियान आगामी वैशाख २० गतेसम्म सञ्चालन हुने अस्पतालले जनाएको छ । आइतबार आयोजित एक कार्यक्रमका बीच महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डङ्गोलले यस सेवाको शुभारम्भ गर्नुभयो । सो अवसरमा उहाँले आफ्नै क्यान्सर परीक्षण गराएर अभियानको सुरुवात गर्नुभएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै कार्यवाहक प्रमुख डङ्गोलले क्यान्सर समयमै पत्ता लगाउन सके जीवन बचाउन सहज हुने बताउनुभयो । “नियमित जाँच गरेर सुरुवाती अवस्थामै क्यान्सर पहिचान गर्न सकियो भने उपचार सरल र कम खर्चिलो हुन्छ,” उहाँले भन्नुभयो, “धेरै महिलाहरूले लाज र डरका कारण जाँच गराउनुहुन्न, यो भ्रम चिर्न आवश्यक छ ।”

राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठान (न्याम्स) का उपकुलपति प्रा.डा. भूपेन्द्रकुमार बस्नेत र अस्पतालका कार्यकारी निर्देशक प्रा.डा. दिलीप शर्माले क्यान्सर लाग्दैमा आत्तिन नहुने बरु पटक–पटक परीक्षण गरेर ढुक्क हुनुपर्नेमा जोड दिनुभयो । उहाँहरूका अनुसार नेपालमा ढिलो गरी अस्पताल पुग्ने प्रवृत्तिका कारण क्यान्सरको उपचार चुनौतीपूर्ण बन्दै गएको छ ।

काठमाडौँ महानगरपालिकाको स्वास्थ्य विभागका प्रमुख दीपक केसीका अनुसार यो सेवा काठमाडौँका मात्र नभई देशभरका महिलाहरूले लिन सक्नेछन् । परीक्षणका लागि महानगरभित्रका ३२ वटा शहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रहरूबाट ‘प्रेषण’ (रिफर) पुर्जी लिएर वीर अस्पताल जानुपर्ने व्यवस्था मिलाइएको छ ।

यस अभियानका लागि महानगरपालिकाले वीर अस्पताललाई एक करोड ५० लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराएको छ । स्वास्थ्य सेवामा पहुँच बढाउने र जटिल रोगको पूर्वपहिचान गर्ने उद्देश्यले सञ्चालित यो कार्यक्रमबाट हजारौँ महिला लाभान्वित हुने अपेक्षा गरिएको छ ।