दुईदेखि तीन साताभित्र इरानबाट अमेरिकी सेना फिर्ता हुने ट्रम्पको घोषणा

एजेन्सी, १८ चैत्र । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी दुईदेखि तीन साताभित्र इरानबाट अमेरिकी सेना फिर्ता हुने घोषणा गरेका छन्।

गत फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानमाथि संयुक्त रूपमा ठूलो आक्रमण गरेपछि त्यहाँ युद्ध भड्किएको थियो। तर, युद्ध कति समय चल्छ भन्ने विषयमा निरन्तर परस्पर विरोधी अभिव्यक्ति दिँदै आएका ट्रम्पले अन्ततः सेना फिर्ता बोलाउने सङ्केत गरेका हुन्।

अमेरिका र इरानबीच पर्दापछाडि वार्ता भइरहेको र दुई देशबीच छिट्टै सम्झौता भएर युद्ध समाप्त हुन सक्ने ट्रम्पले बताएका छन्। त्यस्तै, विश्वभर ऊर्जा आपूर्तिका लागि निकै महत्वपूर्ण मानिने ‘हर्मुज जलसन्धि’ खुला राख्ने र त्यसको सुरक्षा गर्ने जिम्मा अब अमेरिकाको मात्र नभई अन्य देशहरूको पनि हुने उनले स्पष्ट पारेका छन्।

लम्बिँदो द्वन्द्व र ऊर्जा बजारमा देखिएको उतारचढावका कारण अमेरिकी लगानीकर्ताहरूमा चरम निराशा छाएको छ। यसैको दबाबस्वरूप ट्रम्पले सेना फिर्ताको घोषणा गरेको विश्लेषकहरूले बताएका छन्।

युद्धका कारण अमेरिकाभित्र इन्धनको मूल्य आकासिएको छ। अमेरिकन अटोमोबाइल एशोसिएशन (एएए) का अनुसार, मङ्गलबार अमेरिकामा ग्यासोलिन (पेट्रोल) को राष्ट्रिय औसत मूल्य प्रतिग्यालन ४ अमेरिकी डलर नाघेको छ। विगत तीन वर्षयता इन्धनको मूल्य यति उच्च बिन्दुमा पुगेको यो पहिलो पटक हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *