नेपाल पुलिस स्कुललाई अन्तरविद्यालय रनिङ फुटबल ट्रफीको उपाधि
काठमाडौँ, असोज ३ । सैनिक आवासीय महाविद्यालय अन्तरविद्यालय रनिङ फुटबल ट्रफीको २२औँ संस्करणको उपाधि नेपाल पुलिस स्कुल, साँगाले जितेको छ । सैनिक आवासीय महाविद्यालय सल्लाघारी, भक्तपुरको आयोजनामा सञ्चालित प्रतियोगिताको आज महाविद्यालयको घरेलु मैदानमा भएको फाइनल खेलमा आयोजक सैनिक आवासीय महाविद्यालयलाई २-१ गोल अन्तरले पराजित गर्दै नेपाल पुलिस स्कुलले उपाधि हात पारेको हो ।
प्रतियोगिताको समापन कार्यक्रममा कायममुकायम प्रधानसेनापति बलाधिकृत रथी प्रदीप जङ्ग केसीले विजेता नेपाल पुलिस स्कुललाई रु ५० हजार नगदसहित ट्रफी तथा प्रमाणपत्र प्रदान गर्नुभयो । उहाँले उपविजेता सैनिक आवासीय महाविद्यालय रातोलाई रु ३० हजार नगदसहित रनरअप ट्रफी तथा प्रमाणपत्र प्रदान गर्नुभयो ।
कायममुकायम प्रधानसेनापति केसीले प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी, प्रशिक्षक तथा रेफ्रीलाई विभिन्न विधामा पुरस्कार तथा प्रमाणपत्रसमेत प्रदान गर्नुभयो ।
पुरस्कार वितरण समारोहमा उहाँले विद्यार्थी जीवनमा खेलकुदको महत्वपूर्ण भूमिका रहने उल्लेख गर्दै खेलकुदले अनुशासन, टोली भावना र स्वस्थ प्रतिस्पर्धाको विकासमार्फत व्यक्तित्व निर्माणमा योगदान पुर्याउने बताउनुभयो ।
२२औँ संस्करणको प्रतियोगिताले विद्यालयस्तरमा फुटबल खेलको प्रवर्द्धनसँगै प्रतिभावान् खेलाडीको पहिचान तथा विकास, विद्यार्थीबीच आपसी भाइचारा र सौहार्दपूर्ण सम्बन्ध विस्तार तथा खेलकुदमार्फत अनुशासित र स्वस्थ जीवनशैली विकासमा योगदान पुर्याएको उहाँले उल्लेख गर्नुभयो ।
विद्यालयस्तरमा फुटबल खेलको विकास तथा विद्यार्थीमा खेलकुद भावना, अनुशासन, नेतृत्व क्षमता र स्वस्थ प्रतिस्पर्धाको संस्कार विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको महाविद्यालयका व्यवस्थापन प्रमुख कर्णेल शिव पौडेलले जानकारी दिनुभयो ।
उहाँका अनुसार प्रतियोगितामा सैनिक आवासीय महाविद्यालयका दुई टोलीसहित उपत्यकाका विभिन्न विद्यालयका गरी १२ टोली सहभागी भएका थिए । प्रतियोगिताको लिग तथा नकआउट चरणमा गरी कुल १९ खेल सञ्चालन गरिएको थियो ।
