सुनचाँदीको मूल्य घट्योः सुन तोलामा ३,६०० र चाँदी १६५ रुपैयाँले सस्तियो
काठमाडौं, १९ चैत्र । स्थानीय बजारमा आज सुन र चाँदी दुवैको मूल्यमा गिरावट आएको छ। अघिल्लो दिनको तुलनामा आज सुन प्रतितोला ३ हजार ६ सय रुपैयाँ र चाँदी १६५ रुपैयाँले घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आजका लागि छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९४ हजार रुपैयाँ तोकिएको छ। त्यसैगरी, चाँदीको मूल्य प्रतितोला ४ हजार ७ सय ८० रुपैयाँ कायम भएको छ।
यसअघि बुधबार छापावाल सुन प्रतितोला २ लाख ९७ हजार ६ सय रुपैयाँ र चाँदी ४ हजार ९ सय ४५ रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै, गत मंगलबार भने सुनको मूल्य प्रतितोला २ लाख ९० हजार २ सय र चाँदीको मूल्य ४ हजार ८ सय ४५ रुपैयाँ रहेको थियो।
नेपाली बजारमा सुनचाँदीको मूल्य अन्तर्राष्ट्रिय बजारको कारोबारका आधारमा तय हुने गर्दछ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार, आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔँस ५ हजार २ सय अमेरिकी डलर र चाँदी प्रतिऔँस ८५ डलरको हाराहारीमा कारोबार भइरहेको छ।