विश्वकप २०२६ को अनधिकृत प्रसारण रोक्न दूरसञ्चार प्राधिकरणद्वारा ३५ वेबसाइट र एप बन्द गर्न निर्देशन

काठमाडौँ, २८ जेठ । नेपाल दूरसञ्चार प्राधिकरणले फिफा विश्वकप २०२६ का खेलहरू अनधिकृत रूपमा प्रसारण (लाइभ स्ट्रिमिङ) गर्ने तयारी गरिरहेका ३५ वटा वेबसाइट र मोबाइल एपहरूलाई तत्काल बन्द (ब्लक) गर्न निर्देशन दिएको छ। प्राधिकरणले मोबाइल तथा इन्टरनेट सेवा प्रदायक कम्पनीहरूलाई बिहीबार पत्राचार गर्दै यस्तो निर्देशन दिएको हो।

प्राधिकरणका अनुसार नेपालभित्र विश्वकप फुटबल–२०२६ को विशेष र आधिकारिक प्रसारण अधिकार हिमालय टेलिभिजन नेटवर्क (हिमालय स्पोर्ट्स) र डिसहोम डिजिटल प्रा.लि. को संयुक्त उपक्रमले मात्र प्राप्त गरेको छ। विभिन्न पाइरेटेड र अनधिकृत वेबसाइट तथा मोबाइल एप्लिकेसनहरूले विश्वकपका खेलहरू नेपालभित्र नियम विपरीत निःशुल्क देखाउने तयारी गरिरहेको जानकारी प्राप्त भएपछि प्राधिकरणले त्यस्ता अवैध सञ्जालहरूमाथि रोक लगाउन कदम चालेको हो।

प्राधिकरणकी सहायक निर्देशक सुनिता पाण्डेले सम्पूर्ण इन्टरनेट र मोबाइल सेवा प्रदायकहरूलाई पत्र लेख्दै आधिकारिक प्रसारणकर्ताको बौद्धिक सम्पत्तिको रक्षा गर्न र अनधिकृत प्रसारण रोक्नका लागि सूचीकृत वेबसाइट तथा एपहरूमा पहुँच बन्द गर्न निर्देशन दिनुभएको छ। प्रतिबन्ध लगाउन निर्देशन दिइएका ३५ वटा अनलाइन सञ्जालहरू रहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *