अमेरिका-इरान तनाव कम गर्न पाकिस्तानको सक्रियता: ‘वार्ता नै एकमात्र विकल्प’
इस्लामावाद । अमेरिका र इरानबीच बढ्दो सैन्य तनावका बीच पाकिस्तानले द्वन्द्व न्यूनीकरणका लागि मध्यस्थताको प्रयासलाई तीव्रता दिएको छ । इस्लामावादले वर्तमान परिस्थितिलाई नियन्त्रणमा लिन ‘वार्ता र कूटनीतिक संवाद’ अपरिहार्य रहेको भन्दै दुवै पक्षलाई संयमता अपनाउन आग्रह गरेको हो ।
पाकिस्तानको परराष्ट्र मन्त्रालयका प्रवक्ता ताहिर अन्द्राबीले पछिल्ला विकसित घटनाक्रमले शान्ति स्थापनामा चुनौती थपेको स्वीकार गर्दै पाकिस्तानले आफ्नो प्रयास जारी राख्ने बताउनुभयो । नियमित पत्रकार सम्मेलनमा बोल्दै उहाँले भन्नुभयो, “क्षेत्रीय शान्ति र स्थिरताका लागि पाकिस्तानको मध्यस्थता प्रयास जारी छ र यसलाई कमजोर ठान्नु हुँदैन ।”
प्रवक्ता अन्द्राबीले कूटनीति र संवाद नै सबै विवादित मुद्दाहरूको समाधानका लागि मूल मार्गनिर्देशक सिद्धान्त हुनुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “हालको तनावपूर्ण अवस्थाका बाबजुद इस्लामावादले संवादलाई मात्र स्थायी समाधानको रूपमा लिँदै आएको छ ।”
पछिल्लो समय मध्यपूर्वमा तनाव थप उत्कर्षमा पुगेको छ । संयुक्त राज्य अमेरिकाले बिहीबार इरानमाथि नयाँ हवाई आक्रमण गरेपछि इरानले पनि त्यसको जवाफमा प्रतिआक्रमण गरेको छ । यता, अमेरिकी पक्षले भने इरानसँग चलिरहेको युद्ध अन्त्यका लागि वार्ताको प्रक्रिया अवरुद्ध भएको आरोप लगाएको छ ।
पाकिस्तानले क्षेत्रीय सुरक्षाप्रति गहिरो चिन्ता व्यक्त गर्दै शान्ति स्थापनाका लागि सबै पक्षलाई जिम्मेवार बन्न अपिल गरेको छ । मध्यस्थताको पहलस्वरुप पाकिस्तानका गृहमन्त्री हालै इरानको भ्रमण गरी फर्कनुभएको छ । भ्रमणका क्रममा उहाँले पाकिस्तानी प्रधानमन्त्रीको विशेष सन्देश र पत्र इरानी नेतृत्वलाई हस्तान्तरण गर्नुभएको थियो ।
यस कदमलाई पाकिस्तानले आफूलाई एक निष्पक्ष संवादकर्ताको रूपमा प्रस्तुत गर्ने र क्षेत्रीय युद्धको विस्तार रोक्ने रणनीतिक पहलको रूपमा हेरिएको छ ।