‘स्वास्थ्य बीमा साझा अभियान’ नाराका साथ आज दशौँ स्वास्थ्य बीमा दिवस मनाइँदै
काठमाडौं, २५ चैत । दशौँ स्वास्थ्य बीमा दिवस आज देशैभर विविध कार्यक्रम आयोजना गरी मनाइँदै छ । यस वर्षको दिवसको नारा ‘राज्यको लगानी, नागरिकको योगदान, स्वास्थ्य बीमा साझा अभियान’ तय गरिएको छ ।
नागरिकलाई सर्वसुलभ र गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले सरकारले २०७२ सालमा ‘सामाजिक स्वास्थ्य सुरक्षा’ कार्यक्रमका रूपमा स्वास्थ्य बीमाको सुरुवात गरेको थियो । हाल यो कार्यक्रम स्वास्थ्य बीमा बोर्डले सञ्चालन गर्दै आएको छ ।
अनियोजित रूपमा हुने स्वास्थ्योपचार खर्चको जोखिम कम गर्दै नागरिकलाई वित्तीय संरक्षण प्रदान गर्ने ।
सन् २०३० सम्ममा दिगो विकास लक्ष्य प्राप्त गर्न र सर्वव्यापी स्वास्थ्यको पहुँच सुनिश्चित गर्न मद्दत गर्ने ।
नेपालको संविधानको धारा ५१ (ज) मा नागरिकको स्वास्थ्य बीमा सुनिश्चित गर्दै स्वास्थ्योपचारमा पहुँचको व्यवस्था मिलाउने नीति उल्लेख छ । यसैलाई कार्यान्वयन गर्न ‘स्वास्थ्य बीमा ऐन, २०७४’ र ‘स्वास्थ्य बीमा नियमावली, २०७५’ जारी भई कार्यान्वयनमा छन् ।
नियमावलीले स्वास्थ्य बीमाको सुविधा थैलीलाई दोब्बर बनाएको छ भने ज्येष्ठ नागरिकका लागि वार्षिक एक लाख रुपैयाँ बराबरको निःशुल्क स्वास्थ्य बीमाको व्यवस्था गरेको छ । साथै, सङ्गठित क्षेत्रमा कार्यरत व्यक्तिहरूले आफ्नो आम्दानीको १ प्रतिशत योगदान गरी अनिवार्य रूपमा बीमामा आबद्ध हुनुपर्ने व्यवस्था बोर्डले मिलाएको छ ।