पृथ्वीमा खस्न लागेको टेलिस्कोप जोगाउन नासाले पठायो ‘रेस्क्यु रोबोट’

 

काठमाडौं (एजेन्सी) । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले पृथ्वीको वायुमण्डलमा खसेर नष्ट हुन लागेको आफ्नो एउटा महत्वपूर्ण टेलिस्कोपलाई जोगाउन अनौठो र जटिल रोबोटिक मिसन सुरु गरेको छ। ‘लिंक’ नामक तीनवटा हात भएको रोबोटिक अन्तरिक्ष यानलाई ‘स्विफ्ट अब्जर्भेटरी’ टेलिस्कोपको उद्धारका लागि सफलतापूर्वक प्रक्षेपण गरिएको हो।

प्रशान्त महासागरमा रहेको मार्सल टापुबाट शुक्रबार नर्थरोप ग्रुम्यानको ‘पेगासस’ रकेटमार्फत यो यान पठाइएको हो। एउटा परिमार्जित विमानबाट उडानकै क्रममा रकेट छोडिएको थियो, जसले ‘लिंक’ यानलाई निश्चित कक्षमा पुर्‍याएको छ। झण्डै एक महिनापछि यो रोबोट नासाको स्विफ्ट टेलिस्कोप भएको स्थानमा पुग्नेछ।

सौर्य आँधीका कारण जोखिममा टेलिस्कोप
सन् २००४ मा प्रक्षेपण गरिएको २५ करोड डलर मूल्यको ‘स्विफ्ट’ टेलिस्कोपले ब्रह्माण्डकै सबैभन्दा शक्तिशाली विस्फोट मानिने ‘गामा-रे बर्स्ट’ को अध्ययन गर्दै आएको छ। तर, हालैका सौर्य आँधीहरूका कारण यो टेलिस्कोप आफ्नो नियमित कक्षबाट तीव्र गतिमा तल झर्न थालेपछि यसलाई जोगाउन ३ करोड डलरको यो विशेष उद्धार अभियान सुरु गरिएको हो।

कसरी गरिनेछ उद्धार?
अन्तरिक्षमा पुगेपछि रोबोटले पहिले आफ्ना सौर्य प्यानलहरू खोल्नेछ र टेलिस्कोपलाई खोज्नेछ। विशाल अन्तरिक्षमा टेलिस्कोप फेला पारेपछि रोबोटले त्यसको वरिपरि घुमेर आफ्ना तीनवटा रोबोटिक हातको सहायताले टेलिस्कोपलाई समात्ने (डक गर्ने) छ। यो प्रक्रिया निकै जटिल हुने र यसका लागि केही हप्ता लाग्ने वैज्ञानिकहरूले बताएका छन्।

टेलिस्कोपलाई सुरक्षित रूपमा नियन्त्रणमा लिएपछि रोबोटले त्यसलाई धकेलेर करिब ३०० किलोमिटर माथि अर्थात् यसको पुरानै उचाइमा पुर्‍याउने प्रयास गर्नेछ। यो सम्पूर्ण अपरेसन सफल हुन केही महिना लाग्ने अनुमान गरिएको छ।

अन्तरिक्ष विज्ञानमा नयाँ फड्को
नासाको एस्ट्रोफिजिक्स डिभिजनका निर्देशक शन डोमागाल-गोल्डम्यानले यस मिसनलाई ‘धेरै नयाँ प्रविधिहरूको पहिलो परीक्षण’ भन्दै उत्साह व्यक्त गर्नुभएको छ। यदि यो मिसन सफल भएमा, भविष्यमा म्याद सकिन लागेका वा बिग्रिएका अन्य महत्वपूर्ण भू-उपग्रह (स्याटेलाइट) हरूलाई पनि अन्तरिक्षमै मर्मत गरी नयाँ जीवन दिन सकिने बाटो खुल्नेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *