उद्योग वाणिज्य महासङ्घको अध्यक्षमा अञ्जन श्रेष्ठ
काठमाडौँ, २३ वैशाख । नेपालको निजी क्षेत्रको सबैभन्दा ठुलो छाता सङ्गठन नेपाल उद्योग वाणिज्य महासङ्घ (एफएनसीसीआई) को नेतृत्व अञ्जन श्रेष्ठको काँधमा आएको छ। महासङ्घको विधानमा रहेको ‘वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने’ व्यवस्थाअनुसार उनी आगामी तीन वर्षे कार्यकालका लागि अध्यक्ष बनेका हुन्।
महासङ्घ विधानको दफा २९ को उपदफा ३ मा भएको व्यवस्थाअनुसार श्रेष्ठ स्वतः अध्यक्ष बन्ने अन्तिम व्यक्ति हुन्। विधानमा ‘यो विधान लागु हुँदाका बखत कायम वरिष्ठ उपाध्यक्ष आगामी एक कार्यकालका लागि स्वतः अध्यक्ष हुने र त्यसपश्चात् महासङ्घ अध्यक्षको प्रत्यक्ष निर्वाचन हुने’ उल्लेख छ। यस व्यवस्थाअनुसार आगामी चुनावदेखि महासङ्घको अध्यक्ष पदका लागि पनि प्रत्यक्ष मतदान हुनेछ।
वरिष्ठ उपाध्यक्षबाट स्वतः अध्यक्ष बन्ने श्रेष्ठ चौथो व्यक्ति हुन्। यसअघि भवानी राणा, शेखर गोल्छा र चन्द्रप्रसाद ढकाल सोही प्रावधानअनुसार वरिष्ठ उपाध्यक्षबाट स्वतः अध्यक्ष बनेका थिए।
यसैबीच, मङ्गलबार सम्पन्न महासङ्घको साधारणसभा र निर्वाचनबाट अध्यक्षबाहेकका पदाधिकारी तथा कार्यकारिणी समिति सदस्यहरूको पनि चयन भइसकेको छ।