संसदमा सत्तापक्ष र प्रतिपक्ष बीच घम्साघम्सी : नियमावली मस्यौदामा विवाद हुँदा प्रतिनिधिसभा बैठक स्थगित
काठमाडौँ, जेठ १७ । प्रतिनिधिसभाको शुक्रबारको बैठक विपक्षी दलहरूको अवरोध र सत्तापक्षसँगको धकेलाधकेलपछि स्थगित भएको छ । ‘प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको प्रतिवेदन, २०८३’ माथि प्राप्त संशोधनहरूलाई निर्णयार्थ प्रस्तुत गर्ने क्रममा विवाद उत्पन्न भएपछि सदनको कारबाही रोकिएको हो ।
सभामुख डोलप्रसाद अर्यालले कार्यसूचीअनुसार संशोधन प्रस्तावहरू निर्णयार्थ प्रस्तुत गर्न थालेपछि प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससहित नेकपा (एमाले), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लगायतका विपक्षी दलका सांसदहरूले उठेर विरोध जनाएका थिए । नेपाली कांग्रेसकी सांसद वासना थापाले मस्यौदामाथि थप छलफल आवश्यक रहेको भन्दै यसलाई पुनः समितिमा पठाउन माग गर्नुभएको थियो ।
सभामुखले प्रक्रिया अगाडि बढाउन खोजेपछि विपक्षी सांसदहरू ‘वेल’ घेराउ गर्न पुगेका थिए । सोही क्रममा विपक्षीलाई सम्झाउन भन्दै सत्तापक्षका सांसदहरू पनि वेलमा पुगेपछि दुवै पक्षबीच केही बेर घम्साघम्सी र धकेलाधकेल भएको थियो । सभामुखले पटक-पटक सभाको मर्यादा पालना गर्न आग्रह गरे पनि स्थिति तनावपूर्ण बनेपछि बैठक १५ मिनेटका लागि स्थगित गरिएको थियो ।
यसअघि बैठकमा मस्यौदा समितिका सभापति गणेश पराजुलीले प्रतिवेदनमाथि दफावार छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो, जसलाई सभाले सर्वसम्मतिले स्वीकृत गरेको थियो । सो मस्यौदामाथि ३५ वटा संशोधन परेका थिए भने करिब ४५ जना सांसदहरूले छलफलमा भाग लिँदै आ–आफ्नो धारणा राख्नुभएको थियो ।
छलफलमा उठेका प्रश्नको जवाफ दिँदै सभापति पराजुलीले संविधान र लोकतान्त्रिक मूल्यमान्यतालाई आत्मसात् गर्दै विगतका अभ्यासहरूका आधारमा नियमावली परिमार्जन गरिएको स्पष्ट पार्नुभएको थियो । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद पराजुलीको संयोजकत्वमा गत चैत २३ गते १५ सदस्यीय मस्यौदा समिति गठन गरिएको थियो, जसले वैशाख ८ गते मस्यौदा तयार गरी वैशाख २८ गते सदनमा पेस गरेको थियो ।