हर्मुज जलमार्ग पूर्ण रूपमा बन्द गर्ने इरानको अडानसँगै इरान–अमेरिका द्वन्द्व फेरि बल्झिने संकेत
काठमाडौं, १९ जेठ । इरान–अमेरिका द्वन्द्व फेरि बल्झिने संकेत देखिएको छ । इरानको अर्धसरकारी समाचार संस्था तस्निमका अनुसार फेरि तनाव बढ्ने संकेत देखिएको हो । सो संस्थाका अनुसार इरानले लेबनानमा इजरायलको कदमको विरोधमा अमेरिकासँग मध्यस्थकर्तामार्फत भइरहेको वार्ता र मस्यौदा प्रस्तावको आदानप्रदान रोकेको छ । अमेरिकासँग अप्रिलमा भएको युद्धविरामलाई जारी राख्न लेबनानमा युद्धविराम इरानको पूर्व सर्तमध्ये एक हो, तर अहिले त्यहाँ सबै मोर्चामा युद्धविराम उल्लङ्घन गरिएको जनाइएको छ ।
इरानका विदेशमन्त्री सइद अब्बास अराघचीले पनि सामाजिक सञ्जालको एक पोस्टमा इरान र अमेरिकाबीच कुनै पनि मोर्चामा युद्धविराम उल्लङ्घन गर्नु सबै मोर्चामा युद्धविराम उल्लङ्घन गर्नु बराबर भएको उल्लेख गर्नुभएको छ ।
इरान र उसका सहयोगीहरूले ‘स्ट्रेट अफ हर्मुज’ लाई पूर्ण रूपमा रोक्ने र बदलामा बाब अल–मन्डेब घाँटीसहित अन्य विकल्पहरूलाई सक्रिय पार्ने एजेन्डामा रहेको समेत बताएको छ। इरानी संसद्का सभामुख मोहम्मद बाघर गालिबाफले अमेरिकाले इरान विरोधी नौसैनिक नाकाबन्दी र इजरायलले लेबनानमा बढाएको युद्ध अपराध अमेरिकाले युद्धविरामको पालना नगरेको स्पष्ट प्रमाण भएको जिकिर गर्नुले पनि तनाव बढ्ने संकेत देखाएको छ ।
इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माईल बघाईले साप्ताहिक पत्रकार सम्मेलनमा अमेरिकाको ‘नयाँ र विरोधाभासी’ मागका कारण युद्ध अन्त्यका लागि भएको वार्ता प्रक्रिया रोकिएको बताउनु भएको छ ।
इरान र अमेरिकाबीच ४० दिनको लडाइँपछि अप्रिल ८ मा युद्धविराम भएको थियो । त्यसपछि उनीहरूले अप्रिल ११ र १२ मा पाकिस्तानको इस्लामावादमा एक चरणको शान्ति वार्ता गरेका भएपनि सहमति हुन सकेन ।