लिम्पियाधुराबाटै जितेका सांसदको प्रधानमन्त्री साहलाई प्रश्नः सार्वभौमिकता र अखण्डतामा आँच आउने अभिव्यक्ति किन दिएको ?
काठमाडौं, १९ जेठ । गणेशसिंह ठगुन्ना गत फागुन २१ मा भएको निर्वाचनमा १८ हजार ८ सय ९१ मत ल्याउँदै विजयी हुनुभएका सांसद हुनुहुन्छ । नेकपा (एमाले)का तर्फबाट सांसद निर्वाचित हुनुभएका गठुन्ना कालापानी, लिपुलेक र लिम्पियाधुराको मुद्दालाई स्पष्ट रूपमा उठाउँदै आउनु भएका सांसद हुनुहुन्छ ।
केही दिन अघि मात्रै प्रधानमन्त्री बालेन्द्र साहले संसदमा उँभिएर ‘नेपालले पनि भारतको भूमि मिचेको’ भन्ने विवादास्पद अभिव्यक्ति दिएपछि त्यसको विरोधमा लगातार संसद अवरुद्ध हुँदै आएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरुले प्रधानमन्त्री साहको भनाईलाई रफ्फु भर्ने प्रतिस्पर्धा चलाइरहेका बेला विपक्षी दलका सांसदहरुले भने खुलेर विरोध गर्दै आएका छन् । आज पनि श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ, राप्रपाका तर्फबाट मनोनित सांसद खुस्बु ओलीलगायतले प्रधानमन्त्री साहले संसदमा आएर माफी माग्नुपर्ने भन्दै विरोध गरे भने ठगुन्नाले पनि साहको उक्त भनाईको खुलेर विरोध गर्नुभयो । प्रधानमन्त्रीज्युले यहि रोष्टमबाट माननीय सांसदहरुले उठाएको प्रश्नको जवाफ दिने सन्र्दभमा नेपालले पनि भारतका सीमा मिचेको छ भन्ने अभिव्यक्ति दिनुभयो । त्यसपछि विभिन्न खालका व्याख्या–विश्लेषण भइहेको छन्,’ उहाँले भन्नुभयो, ‘तर, पनि संसदको रेकर्डमा सुरक्षित छ । देशको कार्यकारी प्रमुखले त्यो पनि यो सार्वभौम संसदमा बोलेको कुरा यहाँ सबैलाई थाहा भएको विषय हो । यो गम्भीर र आपत्तिजनक विषय हो ।’
उहाँले प्रधानमन्त्री साहको भनाई देशहित विपरीत भएको पनि दावी गर्नुभयो । ‘यो हाम्रो सार्वभौमिकता र अखण्डतामा आँच आउने अभिव्यक्ति हो,’ उहाँले भन्नुभयो, ‘यो प्रधानमन्त्रीको जिव्रो चिप्लिएर भएको हो भने यसलाई धेरै लैजानु हुँदैन । यस्ले देशलाई निकै ठूलो क्षति पुर्याइरहेको छ । हाम्रो देशभित्र एउटा ठूलो आशंका उत्पन्न भैरहेको छ । उहाँले सदनमा आएर जुन शब्द आएको छ त्यो होइन । हाम्रो देशप्रतिको अडान यो हो भनेर भन्नुपर्छ । उहाँले क्षमायचनासहित त्यो शब्द सच्याउनुभयो भने साझा अडानका साथ अघि जान सकिन्छ ।’
ठगुन्नाले यदि प्रधानमन्त्रीले नियतवस त्यस्तो बोलको हो भने गम्भीर आपत्तिजनक विषय भएको उल्लेख गर्नुभयो । नियतवस भनेको हो भने प्रधानमन्त्री साहले राजीनामा दिनुपर्नेमा जोड दिनुभयो ।
उहाँले सीमा विवाद र अतिक्रमण छुट्टै विषय भएको भन्दै कालापानी, लिपुलेक र लिम्पियाधुरामा भारतले ३ सय ९८ वर्ग किलोमिटर नेपाली भूमि अतिक्रमण गरी सैनिक ब्यारेक राखेको र सोही क्षेत्रमा सडक निर्माण गरेर चीनसँग व्यापार शुरु गर्न लागेको पनि स्मरण गराउनुभयो । उहाँले नीति तथा कार्यक्रममा लिम्पियाधुरा, लिपुलेक र कालापानी सीमा विवाद मात्र होइन, यो भारतद्वारा बल प्रयोग गरी कब्जा गरिएको नेपालको भूमि भएको भन्दै नीति तथा कार्यक्रममा यसलाई सीमा विवादका रूपमा मात्र उल्लेख गरिनु अपूर्ण हुने भन्दै यसलाई भारतीय अतिक्रमणका रूपमा स्वीकार गर्दै स्वामित्व फिर्ताको स्पष्ट प्रतिवद्धता आउनुपर्छ भनेर अडान राखेको पनि स्पष्ट पार्नुभयो । ‘कालापानी, लिपुलेक र लिम्पियाधुरा भारतीय अतिक्रमणमा परेको छ,’ उहाँले भन्नुभयो, ‘तर, देशको प्रधानमन्त्री नेपालले भारतको भूमि मिचेको छ भन्नुहुन्छ । उहाँले नेपालले कुन सीमा, कसरी मिचेको छ ? त्यो प्रष्ट पार्नुपर्छ । एउटा नदीले धार बदल्ने वितिक्कै, एउटा किसानका गरा, खेतमा यताउता हुने वितिक्कै देशले सीमा मिचेको छ भन्ने कुरा देशको कार्यकारी प्रमुखले भन्न मिल्छ ? त्यसलाई हामीले सामान्य र चानचुने कुरा हो भनेर त्यसलाई छाडेर बजेटको विषयमा जाने कुरा कत्तिको सान्र्दभिक छ ।’