प्रतिकूल मौसम र ‘अफसिजन’का कारण पोखरा जोमसोम हवाई सेवा तीन महिनाका लागि बन्द

काठमाडौँ, जेठ २० । मुस्ताङको पोखरा जोमसोम हवाई मार्गमा सञ्चालन हुँदै आएको नियमित उडान सेवा आगामी तीन महिनाका लागि बन्द भएको छ । वर्षायामको मनसुन सुरु भएको, मौसममा प्रतिकूलता देखिएको र पर्यटकीय ‘अफसिजन’ भएका कारण निजी क्षेत्रका वायुसेवा प्रदायकहरूले उडान स्थगित गरेका हुन् ।

जोमसोम नागरिक उड्डयन कार्यालयका प्रमुख दीपक पोखरेलका अनुसार यहाँ उडान भर्दै आएका तारा एयरलाइन्स र समिट एयरलाइन्सले नियमित सेवा बन्द गर्ने निर्णय गरेका हुन् । तारा एयरले मे २२ देखि नै उडान रोकेको छ भने समिट एयरले जुन २ देखि सेवा बन्द गरेको हो ।

कार्यालय प्रमुख पोखरेलले बेनी जोमसोम सडक मार्ग हुँदै मुस्ताङ आउने पर्यटकको चहलपहल यथावत रहे पनि हवाई यात्रुको संख्या उल्लेख्य रूपमा घटेकाले सेवा बन्द गर्नुपरेको जानकारी दिनुभयो । उहाँका अनुसार, जोमसोममा उडान भर्ने साना जहाजहरूलाई हाल भारतीय पर्यटकको मानसरोवर यात्राका लागि हुम्लाको सिमीकोटतर्फ पठाइएको छ ।

कहिले खुल्छ सेवा 
समिट एयरलाइन्सका जोमसोम स्टेशन इन्चार्ज सुमन थकालीले आगामी अगस्ट १५ देखि पुनः उडान सुरु गर्ने योजना रहेको बताउनुभयो । यस्तै, तारा एयरलाइन्सका स्टेशन इन्चार्ज सुजन लालचनले मौसममा सुधार आएसँगै सेप्टेम्बरदेखि नियमित उडान सुचारु हुने जानकारी दिनुभयो ।

चार्टर र हेलिकप्टर सेवा यथावत
नियमित हवाई उडान बन्द गरिए पनि आकस्मिक चार्टर उडान र हेलिकप्टर सेवा भने नरोकिने नागरिक उड्डयन कार्यालयले स्पष्ट पारेको छ । पर्यटकीय सिजनमा यी दुई एयरलाइन्सले दैनिक औसत १० वटासम्म उडान भर्ने गर्थे, जसबाट करिब १५० भन्दा बढी पर्यटक मुस्ताङ भित्रिने गरेका थिए ।

जोमसोम नागरिक उड्डयन कार्यालयका अनुसार अत्यधिक चिसो हुने हिउँद र वर्षा धेरै हुने मनसुनको समयमा बर्सेनि केही समयका लागि यस क्षेत्रको हवाई सेवा अल्पकालीन रूपमा स्थगित हुने गरेको छ । यसअघि पनि हिउँदमा करिब तीन महिना उडान सेवा बन्द गरिएको थियो ।