कोशी र बागमतीसहित धेरै प्रदेशमा वर्षाको सम्भावना, पश्चिम तराईमा ‘तातो दिन’

काठमाडौँ, २७ जेठ । देशका विभिन्न भूभागमा आज बदली र वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशमा वर्षाको सम्भावना बढी छ भने पश्चिम तराईमा गर्मी बढ्ने देखिएको छ ।

महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेश लगायत देशका पहाडी र हिमाली भूभागमा साधारणतया बदली (बादल लाग्ने) रहनेछ भने तराईका क्षेत्रमा आंशिक बदली हुनेछ ।

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । यसैगरी, मधेस, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका थोरै स्थान र सुदूरपश्चिमको तराईका एक-दुई स्थानमा पनि वर्षा हुन सक्ने महाशाखाले जनाएको छ ।

वर्षाको सम्भावना भए पनि लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही भूभागमा भने आज पनि गर्मीको प्रकोप जारी रहनेछ । महाशाखाले ती क्षेत्रमा आज ‘तातो दिन’ हुने सम्भावना रहेको भन्दै सचेत रहन आग्रह गरेको छ ।

आज राति देशभर साधारणतया बदली रहने प्रक्षेपण गरिएको छ । मधेस, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराईका धेरैजसो स्थानमा मेघगर्जनसहित वर्षा हुनेछ । यस्तै, कर्णाली र सुदूरपश्चिमका पहाडी क्षेत्रका केही स्थानमा पनि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाको बुलेटिनमा उल्लेख छ ।