सेयर बजारमा आज सामान्य हरियाली, २.५७ अङ्क ले बढेर बन्द

काठमाडौं, २७ जेठ । नेप्सेमा साताको चौथो दिन सामान्य सुधार देखिएको छ । यो साता बजार खुलेदेखि कमजोर बनेको बजार आज पनि तीव्र उतारचढावकाबिच नेप्से परिसूचक २.५७ अङ्क ले बढेर बन्द भएको छ । आज सेयर बजार २७ सय ३६.१७ विन्दुमा पुगेर पुग्यो । ​
आज कुल १२७ कम्पनीको सेयर मूल्य बढ्दा १३४ कम्पनीको घटेको छ । बाँकी १० कम्पनीको सेयर मूल्य भने स्थिर रह्यो। आज कारोबार भएका कुल १३ उपसमूहहरूमध्ये ७ वटा उपसमूहमा हरियाली छाएको छ भने ६ वटा उपसमूह ओरालो लागेका छन् । बजारमा आज होटल्स तथा पर्यटन उपसूचक ०.५४ प्रतिशत र हाइड्रोपावर उपसूचक ०.६५ प्रतिशतले बढेका छन्।
जीवन बीमा उपसमूह ०.३२ प्रतिशत र निर्जीवन बीमा उपसमूह ०.२४ प्रतिशतले ओरालो लागेका छन्। ​आज तीन वटा हाइड्रोपावर कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। उत्कृष्ट कमाउने कम्पनीहरूमा कालिञ्चोक हाइड्रोपावरको मूल्य १४.९९ प्रतिशत, सोपान फर्मास्युटिकल्सको १४.९८ प्रतिशत र अपोलो हाइड्रोपावरको मूल्य १४.९८ प्रतिशतले बढेको छ।