मध्यपूर्वमा पुनः युद्धको बादल: अमेरिका र इरानबीच भीषण सैन्य टकराव, कैयौँ देशमा क्षेप्यास्त्र प्रहार
न्युयोर्क/तेहरान (एजेन्सी) । मध्यपूर्वमा केही समयदेखि मत्थर रहेको तनाव पुनः उत्कर्षमा पुगेको छ । अमेरिकी हेलिकप्टर दुर्घटनालाई लिएर वासिङ्टन र तेहरानबीच सुरु भएको नयाँ विवादले उग्र रूप लिँदा बुधबार दुवै देशले एकअर्काका सैन्य संरचनामाथि आक्रमण गरेका छन् ।
बुधबार बिहानै अमेरिकी वायुसेना र नौसेनाले इरानका विभिन्न सैन्य रणनीतिक केन्द्रहरूमा हवाई आक्रमण गरेका छन् । अमेरिकी सेनाको सेन्ट्रल कमान्ड (सेन्टकप) का अनुसार इरानको बन्दर अब्बास र केशम टापु आसपास रहेका हवाई प्रतिरक्षा प्रणाली, नियन्त्रण केन्द्र तथा निगरानी राडारहरूलाई लक्षित गरी यो कारबाही गरिएको हो ।
यसको प्रतिक्रियास्वरूप इरानले पनि बहराइन, कुवेत र जोर्डनमा रहेका अमेरिकी सैन्य आधार इलाकाहरूमा क्षेप्यास्त्र प्रहार गरेको छ । जोर्डनको सरकारी समाचार संस्था ‘पेट्रा’ का अनुसार मुवाफाक सल्टी एयर बेसतर्फ प्रहार गरिएका पाँचवटा क्षेप्यास्त्रलाई जोर्डनको हवाई प्रतिरक्षा प्रणालीले बीचमै खसालेको छ । उक्त सैन्य अड्डामा अमेरिकी अत्याधुनिक एफ–३५ लडाकू विमानहरू तैनाथ छन् । आक्रमणबाट कुनै मानवीय क्षति नभएको बताइएको छ ।
तनावको कारण: अपाचे हेलिकप्टर दुर्घटना
पछिल्लो तनावको मुख्य कडी हर्मुज जलघाँटीमा भएको अमेरिकी एएच–६४ ‘अपाचे’ हेलिकप्टर दुर्घटनालाई मानिएको छ । अमेरिकी अधिकारीहरूका अनुसार इरानी ड्रोनसँग ठोक्किएर उक्त हेलिकप्टर दुर्घटनाग्रस्त भएको थियो ।
दुर्घटनालगत्तै अमेरिकी सेनाले पहिलोपटक ‘समुद्री ड्रोन’ को प्रयोग गरी उद्धार अभियान चलाएको थियो । हेलिकप्टरमा रहेका दुई चालक दलका सदस्यलाई सुरक्षित उद्धार गरिएको र उनीहरू हाल स्वस्थ रहेको राष्ट्रपति डोनल्ड ट्रम्पले पुष्टि गर्नुभएको छ । अमेरिकाले इरानको ‘गैरजिम्मेवारपूर्ण’ व्यवहारको जवाफ स्वरूप यो सैन्य कारबाही गरिएको दाबी गरेको छ ।
राजनीतिक दाबी र चेतावनी
अमेरिकी राष्ट्रपति ट्रम्पले यस कारबाहीलाई ‘समानुपातिक प्रतिक्रिया’ को संज्ञा दिँदै इरानसँग वार्ताको सम्भावना अझै रहेको बताउनुभएको छ । यद्यपि, इरानी विदेशमन्त्री अब्बास अराघचीले अमेरिकी उपस्थितिलाई नै क्षेत्रीय अस्थिरताको कारक भन्दै कडा प्रतिकार गर्ने चेतावनी दिनुभएको छ । सामाजिक सञ्जालमार्फत उहाँले भन्नुभएको छ, “हाम्रो सार्वभौमसत्तामाथि हुने कुनै पनि हमलाको जवाफ दिन हामी सक्षम छौँ, विदेशी सेना यस क्षेत्रमा सधैँ जोखिममा रहनेछन् ।”
कूटनीतिक प्रयास र क्षेत्रीय प्रभाव
यस युद्धले विश्व ऊर्जा बजार र खाद्यान्न आपूर्तिमा गम्भीर असर पार्ने देखिएको छ । अप्रिलको युद्धविरामपछि शान्त देखिएको यो क्षेत्र फेरि अस्थिरता तर्फ धकेलिएको छ ।
पाकिस्तानको मध्यस्थतामा वार्ताका प्रयासहरू भए पनि दुवै देश आ-आफ्नो अडानमा अडिग छन् । अमेरिकाले इरानको युरेनियम संवर्धन कार्यक्रम रोक्नुपर्ने सर्त राखेको छ भने इरानले आफूमाथि लगाइएका आर्थिक प्रतिबन्धहरू हटाउनुपर्ने माग गर्दै आएको छ ।
यसैबीच, इजरायल र हिजबुल्लाहबीच लेबनानमा जारी सङ्घर्षले पनि स्थितिलाई थप जटिल बनाएको छ । लेबनानी सेना प्रमुख जनरल रोडोल्फ हेकलले हालै पाकिस्तान भ्रमण गरी त्यहाँका सेना प्रमुख फिल्ड मार्सल असीम मुनीरसँग भेटवार्ता गर्नुभएको छ । यस भेटलाई क्षेत्रीय स्थायित्वका लागि भइरहेको कूटनीतिक पहलका रूपमा हेरिएको छ ।