रोल्पामा मिनी ट्रक दुर्घटना: एक जनाको घटनास्थलमै मृत्यु, चालक घाइते

दाङ, २८ जेठ । रोल्पामा आज बिहान मिनी ट्रक दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने चालक घाइते भएका छन्। माडी गाउँपालिका–१ पात्लेस्थित बल्ले–झिनुवाभित्री ग्रामीण सडकखण्डमा उक्त दुर्घटना भएको हो।

दुर्घटनामा परी सल्यानको बागचौर नगरपालिका–४ दुदिलाबोट निवासी ४७ वर्षीय चन्द्रबहादुर बस्नेतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी निरीक्षक सुनिल थापाले जानकारी दिनुभयो।

बल्लेखोलाबाट आलु लोड गरी पोखरातर्फ जाँदै गरेको रा १ ख ३०४५ नम्बरको मिनी ट्रक गुडिरहेका बेला अचानक सडक भाँसिदा दुर्घटना भएको प्रहरीले जनाएको छ। सडकबाट करिब ३० मिटर तल खसेको ट्रकका चालक दुर्घटनामा घाइते भएका छन्। घाइते चालकको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको प्रहरीले जनाएको छ।