किशोरीको शिक्षामा टेवा पुऱ्याउन रास्कोटमा ‘महिनावारी आराम कक्ष’ स्थापना
काठमाडौँ, जेठ ३१ । कालीकोट जिल्लाको रास्कोट नगरपालिकाले किशोरीहरूको शैक्षिक निरन्तरता र स्वास्थ्यलाई प्राथमिकता दिँदै नगरभित्रका सामुदायिक विद्यालयहरूमा ‘महिनावारी आराम कक्ष’ सञ्चालनमा ल्याएको छ । नगरपालिकाभित्रका चार माध्यमिक र छवटा आधारभूत विद्यालय गरी कुल १० वटा विद्यालयमा यस्तो कक्ष स्थापना गरिएको हो ।
महिनावारीका समयमा हुने शारीरिक कष्टका कारण छात्राहरू विद्यालय अनुपस्थित हुने समस्यालाई न्यूनीकरण गर्न यो पहल चालिएको हो । विद्यालयमा आराम कक्ष निर्माण भएपछि छात्राहरूको उपस्थिति दरमा वृद्धि भएको छ ।
बडिमालिका माध्यमिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत छात्रा कल्पना शाहीले आफ्नो अनुभव सुनाउँदै भन्नुभयो, “पहिले महिनावारीका बेला पेट दुख्ने र रिङ्गटा लाग्ने समस्याले गर्दा हरेक महिना पाँच दिनसम्म स्कुल आउन सकिँदैनथ्यो । तर अहिले विद्यालयमै आराम गर्ने ठाउँ र आवश्यक सामग्रीको व्यवस्था भएपछि पढाइ छोड्नु परेको छैन ।”
विद्यालयका प्रधानाध्यापक पुष्पराज बरालका अनुसार आराम कक्षमा छात्राहरूका लागि आवश्यक स्यानिटरी प्याड, सफा पानी, प्राथमिक उपचारका सामग्री, आराम गर्ने बेड र सरसफाइका सामग्रीहरूको व्यवस्था गरिएको छ । “महिनावारीको समयमा किशोरीहरूले भोग्नुपर्ने शारीरिक र मानसिक तनावलाई ध्यानमा राखेर यो व्यवस्था मिलाइएको हो,” उहाँले भन्नुभयो, “यसले किशोरीहरूमा आत्मविश्वास बढाउनुका साथै नियमित विद्यालय आउने वातावरण सिर्जना गरेको छ ।”
रास्कोट महिनावारी स्वास्थ्य र खानेपानी तथा सरसफाइ स्वच्छता सुधार परियोजनाका संयोजक सूर्यबहादुर रोकायाले यो परियोजनाले किशोरीहरूलाई विद्यालयमा टिकाइराख्न र उनीहरूको स्वास्थ्य अवस्था सुधार गर्न महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो ।
यसैबीच, रास्कोट नगरपालिकाका नगरप्रमुख धर्मराज शाहीले विद्यालयमा सुरक्षित र मैत्रीपूर्ण वातावरण निर्माण गर्नु नगरपालिकाको प्राथमिकता रहेको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “स्थानीय तहले किशोरीहरूको स्वास्थ्य र महिनावारी स्वच्छतालाई विशेष ध्यान दिएको छ । रास्कोटको समग्र शैक्षिक सुधारका लागि यो कार्यक्रम एउटा महत्वपूर्ण खुड्किलो साबित भएको छ ।”
नगरपालिकाले आगामी दिनमा अन्य विद्यालयहरूमा पनि यो सेवा विस्तार गर्ने र सञ्चालनमा रहेका कक्षहरूको प्रभावकारिता अनुगमन गर्ने योजना बनाएको छ ।