प्रतिनिधिसभामा असार १ र २ गते मन्त्रालयगत बजेटमाथि छलफल हुने, ३ र ४ गते मन्त्रीहरूले जवाफ दिने
काठमाडौँ, ३१ जेठ । , २०८३ अन्तर्गत मन्त्रालयगत विनियोजन शीर्षकमाथि आगामी असार १ र २ गते छलफल हुने भएको छ। सङ्घीय संसद् सचिवालयका अनुसार मन्त्रालयगत छलफलका क्रममा सांसदहरूले उठाएका प्रश्नको आगामी असार ३ र ४ गते सम्बन्धित मन्त्रीहरूले जवाफ दिने गरी कार्यतालिका तय गरिएको छ।
असार १ गते युवा, श्रम तथा रोजगार; उद्योग, वाणिज्य तथा आपूर्ति; कृषि, वन तथा पर्यावरण; सूचना तथा सञ्चार; संस्कृति, पर्यटन तथा नागरिक उड्डयन; शिक्षा तथा खेलकुद; स्वास्थ्य तथा खाद्य स्वच्छता; भूमि व्यवस्था; सहकारी; सङ्घीय मामिला तथा सामान्य प्रशासन र महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयको विनियोजन शीर्षकमाथि छलफल हुनेछ। यी मन्त्रालयहरूसँग सम्बन्धित प्रश्नहरूको जवाफ सम्बन्धित मन्त्रीहरूले असार ३ गते दिनुहुनेछ।
यसैगरी असार २ गते विज्ञान, प्रविधि तथा नवप्रवर्तन; कानुन, न्याय तथा संसदीय मामिला; पूर्वाधार विकास; गृह; ऊर्जा, जलस्रोत तथा सिँचाइ; परराष्ट्र; अर्थ र रक्षा मन्त्रालयसहित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालय, उपराष्ट्रपति र राष्ट्रपतिको कार्यालयको विनियोजन शीर्षकमाथि छलफल हुनेछ। यी मन्त्रालय र विशिष्ट कार्यालयहरूसँग सम्बन्धित छलफलमा उठेका प्रश्नहरूको जवाफ सम्बन्धित मन्त्री तथा प्रधानमन्त्रीले असार ४ गते दिनुहुने कार्यतालिका छ।
सरकारले गत जेठ १५ गते संसद्मा आगामी आर्थिक वर्ष २०८३/८४ को वार्षिक बजेट प्रस्तुत गरेको थियो।