दयाहाङ र मिरुनाको मुख्य भूमिका रहने चलचित्र ‘रातो घेरा’ को औपचारिक घोषणा

काठमाडौँ, असार ६ । नेपाली चलचित्र क्षेत्रका लोकप्रिय र सफल अन-स्क्रिन जोडी दयाहाङ राई र मिरुना मगर पुन: एकपटक पर्दामा देखिने भएका छन्। सुपरहिट चलचित्र ‘जारी’ बाट दर्शकको मन जित्न सफल यो जोडीलाई लिएर नयाँ चलचित्र ‘रातो घेरा’ (द रेड सर्कल) निर्माण गरिने शुक्रबार औपचारिक रूपमा घोषणा गरिएको हो । विश्राम फिल्म प्रालिका निर्माता जीवन गुरुङ र काफिया फिल्म प्रालिका वितरक गोविन्द शाहीले आज एक कार्यक्रमका बीच चलचित्र निर्माणको संयुक्त घोषणा गर्नुभएको हो। अनिल बुढा मगरको निर्देशन रहने यस चलचित्रले सामाजिक तथा भावनात्मक कथावस्तुलाई समेट्ने निर्माण पक्षले जनाएको छ ।

‘जारी’ मा दयाहाङ र मिरुनाको सशक्त अभिनय र उत्कृष्ट केमेस्ट्रीले बक्स अफिसमा ऐतिहासिक सफलता प्राप्त गर्नुका साथै समीक्षकहरूबाट समेत उच्च प्रशंसा पाएको थियो। पछिल्लो समय यो जोडीलाई नेपाली चलचित्रका ‘मोस्ट डिमान्डेड’ जोडीका रूपमा हेरिने गरिएको छ ।

यसैबीच, अभिनेत्री मिरुना मगरको चर्चा झनै चुलिएको छ। उहाँले केही दिनअघि मात्रै चलचित्र ‘ऊनको स्वीटर’ बाट चलचित्र विकास बोर्डद्वारा प्रदान गरिएको ‘राष्ट्रिय चलचित्र पुरस्कार’ मा सर्वोत्कृष्ट अभिनेत्रीको अवार्ड प्राप्त गर्नुभएको थियो ।

निर्माता जीवन गुरुङका अनुसार ‘रातो घेरा’ लाई कथात्मक र प्राविधिक दुवै पक्षबाट सबल बनाउन विशेष ध्यान दिइएको छ । अनुभवी कलाकार र दक्ष प्राविधिकको सहकार्यले चलचित्रले दर्शकलाई मनोरञ्जनका साथै एउटा गहिरो सामाजिक सन्देश दिने विश्वास निर्माण टोलीले व्यक्त गरेको छ ।