संविधान संशोधनका नाममा सङ्घीयतासँग छेडखानी भए विद्रोह हुन्छ: सांसद राई

काठमाडौँ, २२ असार । प्रतिनिधिसभा सदस्य आर्यन राईले संविधान संशोधनका नाममा सङ्घीयता, लोकतन्त्र र धर्मनिरपेक्षता जस्ता उपलब्धिसँग छेडखानी गरिए सिंहदरबारविरुद्ध विद्रोह हुने चेतावनी दिएका छन्। सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले यस्तो चेतावनी दिएका हुन्।

श्रम संस्कृति पार्टीका सांसद राईले सरकारले संविधान संशोधनका बहानामा प्रदेश खारेजी गर्ने तथा सङ्घीयता र धर्मनिरपेक्षतामाथि आँच पुर्‍याउने खालका गतिविधि गर्न खोजेको आरोप लगाए। उनले परिवर्तनका एजेन्डाहरूलाई उल्ट्याउने दुस्साहस नगर्न सरकारलाई सचेत गराए।

सांसद राईले संविधान संशोधन नै गर्ने हो भने महिलाहरूको प्रतिनिधित्व हालको ३३ प्रतिशतबाट बढाएर ५० प्रतिशत पुर्‍याउनुपर्ने सुझाव दिए। यसका साथै आदिवासी जनजाति, दलित, र मुस्लिमलगायत पछाडि पारिएका समुदायको अधिकारलाई थप सुनिश्चित गर्ने गरी संविधान संशोधन गरिनुपर्ने उनको भनाइ थियो।

सम्बोधनका क्रममा उनले प्रतिनिधिसभा नियमावलीको नियम ५६ को प्रभावकारी कार्यान्वयनका विषयमा सभामुखको ध्यानाकर्षण गराएका थिए। साथै, काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले दिएका कतिपय विवादास्पद अभिव्यक्तिका विषयमा समेत उनले संसद्‌मा प्रश्न उठाएका थिए।