देशभर मनसुनी वायुको प्रभाव : केही प्रदेशमा ‘भारी वर्षा’ को सम्भावना
काठमाडौँ, असार २७ । हाल नेपालमा मनसुनी वायुको सक्रिय प्रभाव रहनुका साथै मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतर्फ (नेपाल नजिक) अवस्थित रहेको छ । जसका कारण देशभरको मौसममा सामान्यदेखि पूर्ण बदली रही अधिकांश स्थानमा वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार हाल कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा मधेश प्रदेशका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
आज दिउँसोको मौसम
बिहीबार दिउँसो देशभर साधारणतया बदली रहनेछ। देशका पहाडी भू-भागका धेरै स्थानहरू, तराईका केही स्थानहरू र हिमाली क्षेत्रका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती, गण्डकी, कर्णाली प्रदेशका पहाडी भू-भागका साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले बुलेटिनमार्फत जानकारी दिएको छ ।
आज रातिको मौसम
रातिको समयमा पनि देशभर मौसम बदली रहनेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरूमा तथा बाँकी प्रदेशका केही स्थानहरूमा मध्यम वर्षाको सम्भावना छ। विशेषगरी गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराईका थोरै स्थान र कोशी प्रदेशका एक-दुई स्थानमा भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ ।
सतर्कता अपनाउन आह्वान
भारी वर्षा र मेघगर्जनको सम्भावना रहेका क्षेत्रहरूमा बाढी, पहिरो र गेग्रान बहावको जोखिम रहनुका साथै यातायात र जनजीवन प्रभावित हुन सक्ने भन्दै महाशाखाले आवश्यक सतर्कता अपनाउन सबैमा अनुरोध गरेको छ। हिमाली क्षेत्रका केही स्थानमा वर्षासँगै हिमपातको समेत सम्भावना रहेकाले उच्च हिमाली भेगमा यात्रा गर्दा सावधानी अपनाउन भनिएको छ ।