अमेरिकी इन्धन नाकाबन्दीका कारण क्युबामा एकै हप्तामा दोस्रो पटक देशव्यापी ‘ब्ल्याकआउट’
हभाना। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्युबामाथि लगाएको अघोषित इन्धन नाकाबन्दीका कारण टापु राष्ट्र क्युबा चरम ऊर्जा संकटमा फसेको छ। शुक्रबार साँझ क्युबामा एकै हप्ताभित्र दोस्रो पटक देशभरको विद्युत सेवा अवरुद्ध (ब्ल्याकआउट) भएको छ, जसका कारण सिंगो देश अन्धकारमा डुबेको छ।
क्युबाको सरकारी विद्युत प्राधिकरण ‘युनियन इलेक्ट्रिका डे क्युबा’ का अनुसार स्थानीय समय अनुसार शुक्रबार अपराह्न ४:३० बजेदेखि ग्रीडमा समस्या आएर देशभर विद्युत आपूर्ति बन्द भएको हो। यसअघि गत सोमबार पनि यस्तै किसिमको राष्ट्रव्यापी ब्ल्याकआउट भएको थियो। यो वर्ष मात्रै क्युबाले चार पटक यस्तो ठूलो विद्युत संकट झेलिसकेको छ।
पुरानो पूर्वाधार र अमेरिकी दबाब
क्युबाको विद्युत प्रणाली निकै पुरानो भइसकेको छ। यहाँका अधिकांश पूर्वाधारहरू शीतयुद्धकालीन (सन् १९६० देखि १९८० को बीचमा) निर्मित हुन्। तर, गत जनवरीदेखि अमेरिकी राष्ट्रपति ट्रम्पले क्युबामा हुने वैदेशिक तेल आपूर्तिमा कडा प्रतिबन्ध लगाएपछि यो समस्या झनै भयावह बनेको हो।
सन् १९६० को दशकदेखि नै अमेरिकाले क्युबामाथि व्यापारिक प्रतिबन्ध लगाउँदै आएको छ। ट्रम्पले आफ्नो दोस्रो कार्यकाल सुरु गरेयता क्युबाको कम्युनिष्ट सरकार ढाल्ने रणनीति अनुरूप ‘रेजिम चेन्ज’ को प्रयास तीव्र पारेका छन्।
भेनेजुएला संकट र इन्धन अभाव
गत जनवरी ३ मा ट्रम्पले भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो विरुद्ध सैन्य कारबाहीको अनुमति दिएका थिए। सो कारबाहीपछि मादुरोलाई पक्राउ गरी न्युयोर्क पुऱ्याइएको छ। मादुरो सत्ताच्युत भएलगत्तै ट्रम्पले भेनेजुएलाबाट क्युबामा हुने तेल आपूर्ति र आर्थिक सहयोग पूर्ण रूपमा रोक्का गरिदिएका छन्।
गत जनवरी २९ मा ट्रम्पले क्युबालाई अमेरिकाका लागि ‘असामान्य र असाधारण खतरा’ घोषणा गर्दै एक कार्यकारी आदेश जारी गरेका थिए। उक्त आदेशमा क्युबालाई इन्धन आपूर्ति गर्ने कुनै पनि देशमाथि भारी कर (ट्यारिफ) लगाउने चेतावनी दिइएको छ। यसका कारण गत मार्च महिनायता क्युबामा रुसको एउटा मात्र तेल ट्याङ्कर पुग्न सफल भएको छ।
अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीका अनुसार क्युबाले आफ्नो कुल खपतको ४० प्रतिशत तेल मात्र आफैँ उत्पादन गर्छ, बाँकी सबै आयातमा निर्भर छ।
मानवीय संकटको चेतावनी
संयुक्त राष्ट्र संघका मानव अधिकार उच्चायुक्त भोल्कर टर्कले इन्धन अभावका कारण क्युबामा गम्भीर मानवीय संकट उत्पन्न हुन सक्ने चेतावनी दिएका छन्। उनका अनुसार पछिल्लो समय क्युबामा शिशु मृत्युदर झण्डै दोब्बरले बढेको छ।
“सन् २०२६ को सुरुदेखि लगाइएको इन्धन प्रतिबन्ध र पछिल्लो समय कडा पारिएका प्रतिबन्धहरूले क्युबाली जनता, विशेषगरी बालबालिकालाई प्रत्यक्ष असर गरिरहेको छ,” टर्कले भनेका छन्, “औषधि र अत्यावश्यक चिकित्सा सामग्रीको अभावमा बालबालिकाहरूले ज्यान गुमाइरहेका छन्। यो किमार्थ स्वीकार्य छैन।”
चीनको सहयोग र नवीकरणीय ऊर्जाको प्रयास
अमेरिकी विदेशमन्त्री मार्को रुबियोले भने यो संकटको दोष क्युबाली सरकारको कुव्यवस्थापनलाई दिएका छन्। उनले अमेरिकाले क्युबाली शासन विरुद्ध कुनै दण्डात्मक काम नगरेको दाबी गरे।
यसैबीच, इन्धन संकट चुलिएपछि क्युबाले सौर्य ऊर्जा र अन्य नवीकरणीय स्रोततर्फको संक्रमणलाई तीव्र पारेको छ। यस कार्यमा क्युबालाई चीनले प्रविधि र उपकरण सहयोग गरिरहेको छ। सन् २०२२ को तथ्यांक अनुसार क्युबाको कुल ऊर्जा खपतमा नवीकरणीय ऊर्जाको हिस्सा १८ प्रतिशत मात्र छ, जसलाई सन् २०३० सम्ममा २५ प्रतिशत पुऱ्याउने लक्ष्य राखिएको छ।(सोतः अन्तराष्ट्रिय समाचार एजेन्सी)