आत्मदाह गर्ने गणेश नेपालीको परिवारलाई काठमाडौँ महानगरपालिकाले मानवीय सहयोग गर्ने
काठमाडौँ, २८ असार । राहदानी विभाग अगाडि आत्मदाहको प्रयास गरेका मुगु जिल्ला घर भई हाल भक्तपुर बस्ने गणेश नेपालीको उपचारका क्रममा दुःखद निधन भएको छ । गत २०८३ असार २५ गते आत्मदाहको प्रयास गरेका नेपालीको निधनप्रति काठमाडौँ महानगरपालिकाले गहिरो दुःख व्यक्त गर्दै शोक सन्तप्त परिवारप्रति हार्दिक समवेदना प्रकट गरेको छ।
महानगरपालिकाले आज एक विज्ञप्ति जारी गर्दै यस अप्रिय घटनाले नगर कार्यपालिका स्तब्ध भएको जनाएको छ। घटनाको यथार्थ बुझ्न र आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन नेपाल सरकार, गृह मन्त्रालयले छानविन समिति गठन गर्ने निर्णयको महानगरले स्वागत गरेको छ। उक्त छानविन समितिको तथ्यगत अनुसन्धानमा महानगरले पूर्णरुपमा सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गरेको छ।
महानगरपालिकाका अनुसार, छानविनबाट प्राप्त हुने सुझाव र तथ्यका आधारमा आवश्यक सुधारात्मक तथा जिम्मेवारीपूर्ण कदमहरू चालिनेछ। “महानगरपालिका नेपाल सरकारसँगको समन्वय र सहकार्यमा समस्याको समाधान पहिचान गर्न, यस्ता दुखद घटनाहरू पुनरावृत्ति हुन नदिन र असल अभ्यास विकास गरी कार्यान्वयनमा लैजान सधैँ तयार छ,” विज्ञप्तिमा उल्लेख छ।
यसैबीच, महानगरपालिकाले दिवंगत नेपालीका परिवारलाई राहत र सहयोगको घोषणा समेत गरेको छ। पीडित परिवारलाई मानवीय सहयोग उपलब्ध गराउने, परिवारका सदस्यलाई रोजगारीको व्यवस्था गर्ने तथा उहाँका सन्ततिलाई निःशुल्क शिक्षा प्रदान गर्ने सम्बन्धमा आगामी कार्यपालिका बैठकबाट विधिसम्मत रूपमा निर्णय गरिने महानगरले जनाएको छ ।
यस संवेदनशील घडीमा सम्पूर्ण नगरवासी तथा सरोकारवालाहरूलाई संयमित रहन र धैर्य धारण गर्न महानगरपालिकाले हार्दिक अपिल गरेको छ।