खोटाङमा खुकुरी प्रहार गरी हत्या: एकै परिवारका तीन जना पक्राउ

खोटाङ, २७ असार । खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका–१ याम्खास्थित मोरियामा खुकुरी प्रहार गरी एक व्यक्तिको हत्या भएको छ। ३८ वर्षीय ध्रुव अधिकारीको हत्या अभियोगमा प्रहरीले एकै परिवारका तीन जनालाई नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय खोटाङका अनुसार हत्यामा संलग्न भएको आरोपमा सोही ठाउँका ५७ वर्षीय तीलकबहादुर सार्की, उनकी ५२ वर्षीया श्रीमती भोटीमायाँ सार्की र २२ वर्षीया छोरी सीता सार्की पक्राउ परेका छन्। मुख्य आरोपित तीलकबहादुरलाई घटना लगत्तै नियन्त्रणमा लिइएको थियो भने श्रीमती र छोरीलाई मृतकका आफन्तको किटानी जाहेरीका आधारमा शुक्रबार पक्राउ गरिएको हो।

प्रारम्भिक अनुसन्धानका अनुसार यो हत्याको मुख्य कारण आर्थिक लेनदेन र श्रमको पारिश्रमिक (ज्याला) रहेको देखिएको छ। मृतक अधिकारीले तीलकबहादुरको घरमा गरेको मजदुरीको पारिश्रमिक माग्न उनको घर पुगेका थिए। सोही क्रममा दुई पक्षबीच घरायसी विवाद चर्किएपछि तीलकबहादुरले खुकुरी प्रहार गरेका थिए। खुकुरी प्रहारबाट गम्भीर चोट लागेका अधिकारीको घटनास्थलमै मृत्यु भएको प्रहरी निरीक्षक निराजन बस्नेतले जानकारी दिनुभयो।

घटनापछि आरोपित तीलकबहादुर आफैँले प्रहरीलाई फोन गरी घटनाबारे जानकारी गराएका थिए। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी बस्नेतका अनुसार पक्राउ परेका तीनै जनामाथि ‘कर्तव्य ज्यान’ मुद्दा अन्तर्गत म्याद थप गरी विस्तृत अनुसन्धान सुरु गरिएको छ। मृतक अधिकारीको शवको पोस्टमार्टम (परीक्षण) पश्चात् अन्तिम संस्कारका लागि आफन्तको जिम्मा लगाइएको छ।