बाढी र लेदोका कारण पृथ्वी राजमार्ग अवरुद्ध, सडक खुलाउने प्रयास जारी

काठमाडौं, भदौ १२ । पृथ्वी राजमार्ग अन्तर्गत काठमाडौं मुग्लिन सडक खण्डमा लेदो थुप्रिएका कारण बुधबार साँझदेखि यातायात सेवा पूर्ण रूपमा अवरुद्ध भएको छ । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीको प्रभावका कारण धादिङको गल्छी र गजुरी गाउँपालिकाका विभिन्न खण्डमा लेदो र गेग्रान थुप्रिन पुग्दा राजमार्ग ठप्प भएको हो ।

ट्राफिक प्रहरी उपरीक्षक डिल्ली नारायण पाण्डेयका  अनुसार, राजमार्गको धादिङ खण्डमा पर्ने तीनवटा मुख्य स्थानमा लेदो पन्छाउने कार्य अझै बाँकी रहेको छ । उहाँका अनुसार गजुरी गाउँपालिका ५ को गलौदी र बाहुनी भिरमा लेदोका कारण आवतजावत रोकिएको छ । यसैगरी, गल्छी गाउँपालिकाको महेश दोभानमा पनि ठूलो परिमाणमा लेदो थुप्रिएको उहाँले बताउनुभयो ।

अवरुद्ध सडक खुलाउनका लागि हाल विभिन्न उपकरणहरूको प्रयोग गरी लेदो हटाउने काम तीव्र गतिमा भइरहेको छ । सडक खुलाउन भइरहेको ढिलाइका बारेमा स्पष्ट पार्दै प्रहरी उपरीक्षक पाण्डेयले भन्नुभयो, “सडकमा लेदो थुप्रिएका स्थानहरूमा मानव बस्ती रहेकाले उक्त लेदोलाई सडक किनारमा मात्र नथुपारी अन्यत्रै सुरक्षित स्थानमा लगेर व्यवस्थापन गर्नुपरेको छ, जसका कारण कार्य सम्पादनमा केही समय लागेको हो ।”

हाल गलौदी र महेश दोभान क्षेत्रको लेदो पन्छाउने कार्यलाई प्राथमिकता दिइएको छ । बाहुनी भिरमा थुप्रिएको लेदो हटाउनका लागि ती दुई स्थानको अवरोध हटिसक्नुपर्ने र त्यसपछि मात्र उपकरणहरू त्यहाँ पुग्न सक्ने अवस्था रहेको जानकारी दिइएको छ ।

प्रहरी प्रशासन र सम्बन्धित निकायले आज दिनभरिमा सडक सुचारु गर्ने लक्ष्यका साथ काम गरिरहेका छन् । सडक अवरुद्ध हुँदा सयौँ सवारी साधन र यात्रुहरू बीच बाटोमै रोकिएका छन् । सम्बन्धित निकायले सडक पूर्ण रूपमा सुचारु नभएसम्म धैर्यता अपनाउन र ट्राफिक नियमको पालना गर्न सर्वसाधारणमा अनुरोध समेत गरेको छ ।