लोमान्थाङमा भूकम्पले ३० भन्दा बढी घर पूर्ण क्षतिग्रस्त, क्षति विवरण संकलन जारी
मुस्ताङ, २५ भदौ । गत भदौ २३ गते लोमान्थाङ केन्द्रबिन्दु बनाई गएको भूकम्पको पराकम्पनले नेपाल-चीन उत्तरी कोरला नाकासँग जोडिएको लोमान्थाङ गाउँपालिकाका विभिन्न स्थानमा ढुंगा र माटोले बनेका ३० भन्दा बढी घर पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्।
लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसीनर्बु गुरुङका अनुसार लोमान्थाङ–५ बाहेकका अन्य वडामा मंगलबार राति गएको भूकम्पले सयौं घरमा क्षति पुगेको छ। गाउँपालिकामा भूकम्पको क्षति विवरण संकलन बुधबारदेखि सुरु भएको छ। अध्यक्ष गुरुङ र उपाध्यक्ष छ्युमी विष्टसहितका जनप्रतिनिधि, गाउँपालिकाका कर्मचारी, इलाका प्रहरी कार्यालय लोमान्थाङ, छोसेर प्रहरी चौकी, सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट र एक्याप लोमान्थाङका प्रतिनिधिहरूले संयुक्त रूपमा क्षति विवरण संकलन गरिरहेका छन्।
अध्यक्ष गुरुङका अनुसार हालसम्म वडा नं. ३ अन्तर्गतका नाम्ग्याल, फुवा र ठिंगर, वडा नं. ४ अन्तर्गतका किम्लिङ, चुम्जुङ र नाम्डोक तथा वडा नं. १ को छोसेर क्षेत्रमा क्षति विवरण संकलन भइसकेको छ। वडा नं. ३, ४ र वडा नं. १ छोसेर गाउँको आधा विवरण संकलन हुँदा नै झण्डै ३० घर पूर्ण रूपमा क्षतिग्रस्त भएको पाइएको उनले बताए।
लोमान्थाङ गाउँपालिका–२ छोसेर र वडा नं. ५ को लोमान्थाङमा भने अझै विवरण संकलन हुन बाँकी रहेको छ। लोमान्थाङ–५ बाहेकका सबै वडामा भूकम्पको असरले अधिकांश घरमा आंशिक चिरा परेको र भत्किने खतरा रहेको अध्यक्ष गुरुङले उल्लेख गरे। विस्तृत क्षति विवरण संकलन हुन केही समय लाग्ने बताइएको छ।
भूकम्पले पूर्ण क्षति पुगेका घरका बासिन्दालाई तत्कालका लागि सामुदायिक भवन र पालमा अस्थायी बसोबासको व्यवस्था मिलाइएको अध्यक्ष गुरुङले रासस्लाई जानकारी दिए। भूकम्पले सबैभन्दा बढी क्षति लोमान्थाङ–३ फुवा र वरपरका गाउँमा पुर्याएको छ। भूकम्प पीडितको पुनःस्थापना तथा अन्य सहयोगका लागि स्थानीय जनप्रतिनिधिसहित नेपाल प्रहरी र सशस्त्र प्रहरी बल परिचालन गरिएको गाउँपालिका उपाध्यक्ष विष्टले जानकारी दिइन्।
यसअघि जिल्ला प्रहरी कार्यालय मुस्ताङले लोमान्थाङ क्षेत्रमा गएको भूकम्पले फुवामा एउटा घरमा क्षति पुगेको र लोमान्थाङ–५ स्थित छोदे गुम्बाको बाहिरी पर्खालमा क्षति भएको जनाएको थियो। भूकम्पको प्रभावले उपल्लो मुस्ताङका स्थानीयवासी समेत प्रभावित बनेका छन्।
लोमान्थाङ क्षेत्रमा मंगलबार राति ९ बजी ५३ मिनेटमा पहिलोपटक भूकम्प गएको थियो। अध्यक्ष गुरुङका अनुसार लगत्तै नौ पटकसम्म भूकम्पीय धक्का महसुस गरिएको थियो। पहिलो धक्का महसुस भएलगत्तै उपल्लो मुस्ताङका बासिन्दा सुरक्षित स्थानको खोजीमा रातभरि घरबाहिरै बस्न बाध्य भएका थिए। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रामचन्द्र तिवारीले भने लोमान्थाङ क्षेत्रको भूकम्पीय क्षतिको पूर्ण विवरण अझै प्राप्त हुन नसकेको जानकारी दिए।
