मानवीय संकट व्यवस्थापनमा अहोरात्र खटिएकी काठमाडौँ महानगरकी कार्यवाहक प्रमुख सुनिता डंगोलको सक्रियता : रसुवा बाढीपीडितका लागि महानगरपालिकाबाट ४ करोड ५४ लाख सहयोग
काठमाडौँ, भदौ १३ । रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीबाट सिर्जित मानवीय संकट व्यवस्थापनका लागि काठमाडौँ महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार ७ सय ८७ रुपियाँ सहयोग गर्ने घोषणा गरेको छ । मानवीय सेवा र विपद व्यवस्थापनमा अहोरात्र खटिनुभएकी महानगरकी कार्यवाहक प्रमुख सुनिता डंगोलको अध्यक्षतामा आज बसेको ५७ औँ कार्यपालिका बैठकले उक्त महत्वपूर्ण निर्णय गरेको हो ।
बैठकले बाढी प्रभावित क्षेत्रमा खाद्यान्न, लत्ताकपडा, इन्डक्सन चुलो, भाँडावर्तन, पिउने पानी, त्रिपाल, कम्बल र सिलिन्डर जस्ता अत्यावश्यक सामग्री उपलब्ध गराउने निर्णय गरेको छ । यति मात्र नभई, उद्धार र राहतका लागि एम्बुलेन्स, शववाहन, एक्साभेटर, जेट मेसिन लगायतका मेसिनरी औजार र आवश्यक जनशक्ति परिचालन गर्ने जिम्मेवारी महानगरको विपद व्यवस्थापन समितिलाई दिइएको छ ।
कसरी जुटाइँदैछ सहयोग रकम
सहयोग गरिने कुल रकममध्ये ३ करोड रुपियाँ महानगरको विपद व्यवस्थापन कोषबाट बेहोरिनेछ । बाँकी रकम महानगरका जनप्रतिनिधि र कर्मचारीहरूको योगदानबाट संकलन गरिनेछ ।
कार्यपालिका सदस्यहरूको १ महिनाको सुविधा ।
वडा सदस्यहरूको ५ दिनको सुविधा ।
शहरी योजना आयोगका पदाधिकारी तथा विज्ञहरूको ७ दिनको पारिश्रमिक ।
अधिकृत स्तरका कर्मचारीको ७ दिनको र सहायक स्तरका कर्मचारीको ५ दिनको पारिश्रमिक ।
श्रेणीविहीन कर्मचारीको २ दिनको पारिश्रमिक जम्मा गरिनेछ ।
‘उद्धार मात्र होइन, पुनस्र्थापना नै मुख्य लक्ष्य’ : सुनिता डंगोल
बैठकलाई सम्बोधन गर्दै कार्यवाहक प्रमुख सुनिता डंगोलले विपदमा परेका नागरिकलाई सुरक्षित ठाउँमा पुर्याउनु मात्र पर्याप्त नहुने बताउनुभयो । उहाँले भन्नुभयो, “हाम्रो प्राथमिकता नागरिकलाई दैनिक सहज जीवन प्रदान गर्दै पूर्ण पुनस्र्थापना गर्नु हो । बाढीबाट प्रभावित भई काठमाडौँमा अध्ययन गरिरहेका विद्यार्थी र अस्पतालमा कुरुवा नभएका बिरामीहरूको समेत हामीले विशेष हेरचाह गर्नुपर्छ । हामी जहाँ छौँ, त्यहीँबाट प्रभावकारी सहयोग पुर्याउनु हाम्रो दायित्व हो ।”
अहोरात्र खटिएका संयन्त्र र विभागहरू
बैठकमा प्रवक्ता नविन मानन्धरले भदौ १० गते बाढी आएको दिनदेखि नै महानगरले गरिरहेको खोज तथा उद्धार कार्यबारे जानकारी दिनुभयो । विपद व्यवस्थापन समितिका संयोजक प्रेम थापा, विभाग प्रमुख अनिरुद्र नेपाल र नगर प्रहरी प्रमुख विष्णुप्रसाद जोशीले राष्ट्रिय विपद जोखिम न्यूनीकरण प्राधिकरणसँगको समन्वय र प्रहरी बलको परिचालनबारे व्रिफिङ गर्नुभएको थियो ।
बैठकमा कार्यपालिका सदस्य हीरालाल तण्डुकारले मानवीय सेवाको उदाहरणीय कार्य गर्दै आफ्नो बाँकी कार्यकालको सबै सेवा–सुविधा विपद व्यवस्थापन कोषमा जम्मा गर्ने घोषणा गर्नुभयो । बैठकमा अन्य सदस्यहरू बिमलकुमार होडा, चिनीकाजी महर्जन, मचाराजा महर्जन र मीना सुनारले पनि सहयोगका विषयमा धारणा राख्नुभएको थियो ।
सहयोगका लागि सार्वजनिक आह्वान
महानगरपालिकाले सम्पूर्ण महानगरवासी, उद्योगी, व्यापारी र पेशाकर्मीहरूलाई आफ्नो सामर्थ्य अनुसार सहयोग गर्न अपिल गरेको छ । सहयोग संकलन र सहजीकरणका लागि राष्ट्रिय सभागृहमा तत्कालै ‘सहायता कक्ष’ र ‘सूचना केन्द्र’ सञ्चालन गरिनेछ । सूचना प्रविधि विभागलाई सबै वडाबाट बाढी प्रभावितहरूको लगत संकलन गर्न निर्देशन दिइएको छ ताकि वास्तविक पीडितले छिटोभन्दा छिटो राहत पाउन सकून् ।