भैलद्यको परिक्रमासँगै भक्तपुरमा गाईजात्राको मुख्य रौनक सम्पन्न, ‘घिन्ताङघिसी’ नाचले गुञ्जियो नगर

भक्तपुर, १३ भदौ । भक्तपुरको ऐतिहासिक एवं सांस्कृतिक महत्त्वको गाईजात्रा पर्वको मुख्य दिन शनिबार ‘भैलद्य’ (बाँस र परालबाट निर्मित भैरवको प्रतीक) को नगर परिक्रमासँगै उत्साहपूर्वक सम्पन्न भएको छ। भक्तपुर नगरपालिका–४ लाकुलाछेंबाट सुरु भएको भैलद्यको परिक्रमा लाकुलाछेंमै पुगेर विसर्जन भएसँगै पहिलो दिनको मुख्य जात्रा सकिएको हो।

जात्रालाई व्यवस्थित र मर्यादित बनाउन यस वर्ष विशेष समय तालिका निर्धारण गरिएको थियो। सोहीअनुसार दिउँसो ४ बजेदेखि नै भैलद्यको परिक्रमा सुरु गरिएको भैरवनाथ जात्रा सहयोग समितिका अध्यक्ष शिवराम किजूले जानकारी दिनुभयो। भैलद्यको यात्रा न्यातापोल मन्दिर हुँदै दरबार क्षेत्र पुग्दा भक्तजन र पर्यटकको ठुलो भिड लागेको थियो। दरबार क्षेत्रमा भैलद्यलाई तीन पटक घुमाउँदाको दृश्य निकै मनमोहक देखिएको थियो।

यस वर्ष भैलद्यको पछाडि कुल २० वटा ताहासा (बाँस र कपडाबाट बनाइएको गाईको प्रतीक) हरू सहभागी थिए। भक्तपुरको गाईजात्राको प्रमुख विशेषता मानिने ‘घिन्ताङघिसी’ नाचले शनिबार दिनभर नगर गुञ्जायमान बन्यो। जोडी–जोडीमा बाँसका लट्ठी जुधाएर नाचिने यस नाचमा ५ वर्षका बालबालिकादेखि ८० वर्षका वृद्धवृद्धाहरू समेत उत्साहका साथ सहभागी भएका थिए। दिवङ्गत आफन्तको सम्झनामा निकालिएका प्रत्येक ताहामचाका अगाडि दर्जनौँ जोडीहरू परम्परागत बाजाको तालमा नाचेका थिए।

जात्राका क्रममा रसुवाको भोटेकोशी बाढीमा परी ज्यान गुमाएका भक्तपुरका सत्यसुन्दर प्रजापतिको तर्फबाट पनि गाई (ताहमचा) निकालिएको थियो। विपद्मा ज्यान गुमाएका प्रजापतिको सम्मानमा उहाँको गाईलाई घिन्ताङघिसीको टोलीबिना नै सामान्य रूपमा नगर परिक्रमा गराइएको थियो।

भक्तपुरको गाईजात्रा आठ रात नौ दिनसम्म चल्ने परम्परा छ। शनिबार मुख्य दिनको जात्रा सकिए पनि यो उत्सव आगामी सात दिनसम्म जारी रहनेछ। भोलि आइतबारदेखि नगरका टोलटोलमा विभिन्न साँस्कृतिक नाचहरू, नाटक र सामाजिक विकृतिमाथि प्रहार गर्ने व्यङ्ग्यात्मक प्रहसनहरू प्रदर्शन गरिनेछ। बाँकी दिनहरूमा साँझपख व्यङ्ग्यात्मक प्लेकार्डसहितका झाँकीहरू निकाल्ने प्रचलन रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *