जनहितका लागि जरुरी सूचना: बाढी-पहिरोमा अलपत्र यात्रुहरूका लागि काठमाडौँ महानगरद्वारा निःशुल्क यातायात सेवा सुरु
काठमाडौँ, भदौँ, १२ । हालैको अविरल वर्षा र बाढी-पहिरोका कारण नुवाकोट र रसुवा क्षेत्रमा अलपत्र पर्नुभएका नागरिकहरूको सहजताका लागि काठमाडौँ महानगरपालिकाले विशेष मानवीय पहल सुरु गरेको छ। विपद्को यस कठिन घडीमा कार्यथलोमा अड्किएका वा आफ्ना आफन्तको खोजीमा जानुपर्ने सर्वसाधारणका लागि महानगरले निःशुल्क यातायात सेवा सञ्चालनमा ल्याएको हो ।
यसरी लिन सकिन्छ सेवा:
यो सेवा मुख्यतया नुवाकोटको विदुर नगरपालिकादेखि काठमाडौँ महानगरपालिकासम्म सञ्चालन भइरहेको छ ।
लक्षित समूह : बाढी प्रभावित क्षेत्रमा अलपत्र परी काठमाडौँ आउन चाहने व्यक्तिहरू र काठमाडौँबाट प्रभावित क्षेत्रमा आफ्ना आफन्त खोज्न जानुपर्ने व्यक्तिहरू ।
समय: यी सवारी साधनले दैनिक दुई पटक (दुई ट्रिप) यात्रु ओसार्नेछन् ।
सवारीको पहिचान: यात्रुहरूले सहजै चिन्नका लागि गाडीको अगाडि र पछाडि ब्यानर राखिएको छ भने सुरक्षा र सहयोगका लागि गाडीमा नगर प्रहरी समेत खटाइएको छ ।
हालको अवस्था र क्षमता
गत शुक्रबार मात्रै १९ जना (९ महिला, ८ पुरुष र २ बालबालिका) को सफल उद्धार गरी काठमाडौँ ल्याइएको छ । सेवालाई प्रभावकारी बनाउन आजबाट १९ सिट क्षमताको गाडी (बा ०६ ख ९३३९) र १० जना अट्ने गाडी ०३० च ७३६४ दुईवटा सवारी साधन परिचालन गरिएको छ
प्रतिवद्धता
महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलसहितको टोलीले यस उद्धार कार्यमा खटिएका कर्मचारीहरूलाई हौसला प्रदान गर्दै यात्रुहरूको सेवामा कुनै कमी हुन नदिन निर्देशन दिनुभएको छ। आवश्यकता अनुसार आगामी दिनमा गाडीको संख्या थप गरिने योजना समेत महानगरको रहेको छ ।
यदि तपाईं वा तपाईंको कोही आफन्त नुवाकोट-काठमाडौँ खण्डमा बाढीका कारण अलपत्र पर्नुभएको छ भने यस निःशुल्क सेवाको लाभ लिनुहुन अनुरोध गरिन्छ । विपद्को समयमा संयमता अपनाऔँ र एकअर्कालाई सहयोग गरौँ ।