बाढी प्रभावित थप ७ क्षेत्रमा नेपाल टेलिकमकाे सेवा सुचारु, ९३ टावर सञ्चालनमा

काठमाडौँ, १३ भदौ । नेपाल टेलिकमले बाढी र पहिरोका कारण सञ्चार सम्पर्क विच्छेद भएका थप सातवटा क्षेत्रमा आजदेखि सेवा पुनः सञ्चालनमा ल्याएको छ । यससँगै बाढीबाट प्रभावित भएका कुल १२० वटा मोबाइल टावर (साइट) मध्ये हालसम्म ९३ वटा सञ्चालनमा आएका छन् ।

टेलिकमका अनुसार रसुवाको त्रिशूली ‘थ्री ए’ जलविद्युत् आयोजना नजिकै रहेको टावर मर्मत गरी सञ्चालनमा ल्याइएको छ । यसबाट आयोजनाको सुरुङमार्गमा थुनिएकाहरूको उद्धारका लागि खटिएका सुरक्षाकर्मी र प्राविधिक टोलीलाई आवश्यक सञ्चार सम्पर्क गर्न निकै सहज भएको छ । उक्त स्थानमा सेवा सुचारु गर्न आवश्यक उपकरणहरू सवारीसाधन र भरियामार्फत ढुवानी गरिएको थियो ।

नेपाल टेलिकमका प्रवक्ता डा. कमल लामिछानेले रसुवाको उत्तरगया (कालिकास्थान) सहित नुवाकोटका विकट स्थानमा सेवा सुचारु गरिएको जानकारी दिनुभयो । नुवाकोटका तुप्चे र बुङ्ताङमा रहेका बिटिएस टावर सञ्चालनका लागि आवश्यक जेनेरेटर र इन्धन हेलिकप्टरमार्फत ढुवानी गरिएको थियो । यसका साथै कटुन्जे, सामरी भञ्ज्याङ र बेतिनीका टावरहरू पनि आजैदेखि सञ्चालनमा आएका छन् ।

फिल्डमा खटिएका प्राविधिकहरूको हौसला बढाउन र मर्मत कार्यलाई तीव्रता दिन नेपाल टेलिकमकी प्रबन्ध निर्देशक सङ्गीता पहाडी आफैँ प्रभावित क्षेत्रमा पुग्नुभएको छ । उहाँले आज नुवाकोटका विभिन्न स्थानको स्थलगत निरीक्षण गर्दै सेवा छिटोभन्दा छिटो सुचारु गर्न निर्देशन दिनुभयो ।

टेलिकमले बाँकी रहेका २७ वटा टावरहरू पनि यथाशक्य चाँडो सञ्चालनमा ल्याउने गरी काम गरिरहेको जनाएको छ ।