सोमालियामा समुद्री डाँकू विरुद्ध टर्की र सोमालियाको ठूलो कारबाही: १४ डाँकू मारिए, अपहरणमा परेको जहाज मुक्त
मोगादिसु (एजेन्सी) । सोमालियाको अर्ध-स्वायत्त राज्य पुन्टल्याण्डको तटीय क्षेत्रमा समुद्री डाँकूहरूले कब्जामा लिएको एक व्यापारिक जहाजलाई टर्की र सोमालियाको संयुक्त सैन्य बलले मुक्त गराएको छ। ‘एमभी लाटुक’ नामक उक्त जहाजलाई छुटाउन गरिएको विशेष अप्रेसनमा १४ जना समुद्री डाँकू मारिएका छन्।
सोमालियाको रक्षा मन्त्रालयले सामाजिक सञ्जाल ‘एक्स’ मार्फत जानकारी दिए अनुसार, क्यामरुनको झण्डावाहक उक्त जहाजलाई मुक्त गराउन दुई देशका सेनाले भीषण सैन्य कारबाही चलाएका थिए। कारबाहीका क्रममा डाँकूहरूले प्रयोग गरेका चारवटा डुङ्गाहरू समेत पूर्ण रूपमा नष्ट गरिएको छ।
सेनाको दबाबपछि डाँकूहरू भागे
रक्षा मन्त्रालयका अनुसार, संयुक्त सुरक्षा बलको कडा र निरन्तरको दबाबका कारण बाँकी रहेका डाँकूहरू जहाज छाडेर भाग्न बाध्य भएका थिए। त्यसलगत्तै सुरक्षा बलले जहाजलाई आफ्नो नियन्त्रणमा लिएको हो। यो उद्धार कार्य सोमालिया र टर्कीबीच समुद्री सुरक्षा सुदृढ गर्ने, तटीय क्षेत्रको रक्षा गर्ने र समुद्री डकैती नियन्त्रण गर्ने उद्देश्यले गरिएको रक्षा सहयोग सम्झौता अन्तर्गत सम्पन्न भएको हो।
जहाजमा रहेका चालक दलका सदस्यहरूको अवस्था र सुरक्षा बलतर्फको क्षतिको बारेमा भने मन्त्रालयले विस्तृत विवरण सार्वजनिक गरेको छैन। यद्यपि, पुन्टल्याण्डको नुगल क्षेत्रका एक स्थानीय अगुवा अब्दुल्लाही वारसााले जहाज र त्यसमा रहेका कर्मचारीहरू सुरक्षित रूपमा मुक्त भएको पुष्टि गरेका छन्।
जुलाईमा टर्कीबाट हिँडेको थियो जहाज
‘एमभी लाटुक’ जुलाईको अन्त्यतिर टर्कीको टेकिरडाग बन्दरगाहबाट प्रस्थान गरेको थियो। तान्जानियाको दार-एस-सलामका लागि हिँडेको यो जहाजलाई गत अगस्ट १७ मा सोमालियाको नुगल क्षेत्र नजिकैबाट डाँकूहरूले अपहरण गरेका थिए। मरिन ट्राफिक वेबसाइटका अनुसार, मुक्त भएपछि जहाज अहिले आफ्नो गन्तव्यतर्फ अघि बढिरहेको छ।
बढ्दै समुद्री डकैतीको जोखिम
सन् २०११ मा सोमालियाको तटीय क्षेत्रमा समुद्री डकैती चरम अवस्थामा थियो। अन्तर्राष्ट्रिय नौसैनिक परिचालन र कडा सुरक्षा उपायका कारण केही वर्ष यो समस्या कम भएको थियो। तर, सन् २०२४ मा पुन: समुद्री डकैतीका घटनाहरूमा वृद्धि भएको छ।
अन्तर्राष्ट्रिय समुद्री संगठन (IMO) को तथ्याङ्क अनुसार, यस वर्ष सोमालियाको तटीय क्षेत्रमा १५ वटा आक्रमण भइसकेका छन्, जुन सन् २०१३ पछिकै उच्च संख्या हो। हालसम्म कम्तीमा पाँचवटा मालबाहक जहाजहरू समुद्री डाँकूको नियन्त्रणमा परिसकेका छन्, जसले गर्दा विश्वव्यापी व्यापारिक मार्गको सुरक्षामा गम्भीर प्रश्न खडा भएको छ।