मन्दिरको जग्गा व्यक्तिको नाममा दर्ता गरेको अभियोगमा मालपोतका पूर्वप्रमुखसहित ५ विरुद्ध मुद्दा
काठमाडौँ, १८ भदौ । रुपन्देहीको भैरहवास्थित मालपोत कार्यालयका तत्कालीन प्रमुख मालपोत अधिकृत कुमार आचार्यसहित पाँच जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ। सरकारी कागजात सच्याएर मन्दिरको जग्गा व्यक्तिको नाममा कायम गरी भ्रष्टाचार गरेको अभियोगमा आयोगले बुधबार विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरेको हो।
अख्तियारले तत्कालीन प्रमुख मालपोत अधिकृत कुमार आचार्य, तत्कालीन नायब सुब्बाहरू लक्ष्मणप्रसाद न्यौपाने र अजितकुमार साहनी, तत्कालीन खरिदार मेघबहादुर भुजेल मगर र जग्गाधनी पर्वतराजकान्त मिश्रलाई विपक्षी बनाएको छ। उनीहरूविरुद्ध ४ करोड ५३ लाख ४१ हजार ८०० रुपैयाँ बिगो कायम गरी सोही बराबरको जरिवाना र कैद सजायको माग गरिएको आयोगका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिनुभयो।
यो प्रकरण भूमिसम्बन्धी ऐन, २०२१ लागू हुनुभन्दा पहिलेको जग्गासँग जोडिएको छ। साविक भुजौली गाउँ पञ्चायत वडा नं. ९(ख) का विभिन्न कित्ताका जग्गाहरू हदबन्दीका कारण सरकारले तोकेको मापदण्डभन्दा बढी भएपछि तत्कालीन जग्गाधनीले ‘कालीजी मन्दिर’ लाई दान दिएको भनी फाँटवारीमा उल्लेख गरेका थिए। वि.सं. २०२६ सालको नापीमा समेत उक्त जग्गा मन्दिरकै नाममा रहेको देखिएको थियो।
सिद्धार्थनगर नगरपालिका वडा नं. १० मा अवस्थित उक्त जग्गामा हाल पनि कालीजी र शिवजीको मन्दिर रहेको छ, जहाँ स्थानीयले पुजारी राखेर पूजापाठ गर्दै आएका छन्। तर, मालपोतका कर्मचारीहरूले जग्गाधनी पर्वतराजकान्त मिश्रसँगको मिलेमतोमा सरकारी लिखत र सरकारी कागजात सच्याएर उक्त धार्मिक जग्गा व्यक्ति विशेषको नाममा दर्ता कायम गरेको अख्तियारको अनुसन्धानबाट खुलेको छ।
अख्तियारले उनीहरूमाथि भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) बमोजिमको कसुरमा कारबाहीको माग गरेको छ। सार्वजनिक पदमा रहेर गैरकानुनी लाभ लिने र सरकारी सम्पत्ति हानी गर्ने कार्यमा संलग्न भएको पुष्टि भएपछि आयोगले अदालतको ढोका ढकढक्याएको हो।