अमेरिका-इरान तनावले चरम रूप लिँदा खाडी क्षेत्रमा युद्धको छाया: छिमेकी देशहरूमा पनि आक्रमण सुरु
वाशिङ्गटन/तेहरान (एजेन्सी) । अमेरिका र इरानबीचको सैन्य मुठभेडले मध्यपूर्वमा गम्भीर संकट उत्पन्न गरेको छ। अमेरिकी सेनाले इरानभित्र गरेका आक्रमणहरूको जवाफमा इरानले जोर्डनस्थित अमेरिकी सैन्य अड्डा र छिमेकी खाडी मुलुकहरूमा ब्यालिस्टिक मिसाइल र ड्रोन प्रहार गरेको छ।
अन्तर्राष्ट्रिय समाचार संस्थाहरूका अनुसार इरानको रिभोल्युसनरी गार्ड कर्प्स (IRGC) ले जोर्डनको प्रिन्स हसन एयरबेस र अमेरिकी मरिन बेसमा “भीषण” ब्यालिस्टिक मिसाइल आक्रमण गरेको दाबी गरेको छ। यो कारबाही अमेरिकी आक्रमणमा मारिएका सर्वसाधारणको प्रतिशोधमा गरिएको इरानले जनाएको छ।
सर्वोच्च नेताको चेतावनी र मानवीय क्षति
इरानका सर्वोच्च नेता मोज्ताबा खामेनीले वाशिङ्गटनका लागि इरानी सशस्त्र बलसँग “अविस्मरणीय पाठ” हरू तयार रहेको चेतावनी दिनुभएको छ। यसैबीच, इरानी सञ्चारमाध्यमले देशको दक्षिणी क्षेत्रका असालुयेह, बन्दर अब्बास र चाबहार लगायतका स्थानमा ठुला विस्फोटहरू भएको बताएका छन्।
इरानी रेड क्रिसेन्टका अनुसार सिरिक (Sirik) मा भएको अमेरिकी आक्रमणले एउटा विवाह समारोह भइरहेको घरमा क्षति पुर्याउँदा एक बालकसहित ४ जनाको मृत्यु भएको छ भने ५० भन्दा बढी घाइते भएका छन्।
खाडी क्षेत्रमा अलर्ट: कुवेत र बहराइनद्वारा ड्रोन खसालिएको दाबी
इरान र अमेरिकाको यो लडाइँ छिमेकी देशहरूसम्म फैलिएको छ। कुवेतले आफ्नो हवाई रक्षा प्रणालीले इरानी ड्रोन आक्रमणको सामना गरिरहेको जनाएको छ भने बहराइनले आफ्नो सीमाभित्र छिर्न खोजेका इरानी ड्रोनहरूलाई सफलतापूर्वक नष्ट गरेको दाबी गरेको छ।
अमेरिकी सेन्ट्रल कमान्ड ले सेप्टेम्बर १ मा इरानी लक्ष्यहरूमा आक्रमणको लहर चलाएको पुष्टि गरेको छ। इरानले व्यावसायिक जहाज र अमेरिकी सेवाकर्मीमाथि आक्रमण गर्ने प्रयास गरेपछि त्यसको जवाफमा यो कदम चालिएको पेन्टागनको भनाइ छ।
ट्रम्पको कडा धम्की: “इरानको अस्तित्व नै मेटिन सक्छ”
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ मार्फत इरानलाई कडा चेतावनी दिनुभएको छ। ओभल अफिसमा सञ्चारकर्मीले “के अमेरिकाले इरानविरुद्ध आणविक हतियार प्रयोग गर्ने सोचिरहेको छ?” भनी सोधेको प्रश्नमा आक्रोश व्यक्त गर्दै ट्रम्पले त्यसलाई “मूर्खतापूर्ण प्रश्न” भन्नुभयो।
यद्यपि, आफ्नो पोस्टमा उहाँले भन्नुभएको छ, “यदि यो न्यायोचित आक्रमणको बदलामा इरानले फेरि जवाफी कारबाही गरेमा उसलाई पहिलेभन्दा कडा र उच्च स्तरको प्रहार गरिनेछ। त्यसपछि इस्लामिक गणतन्त्र इरानको नामोनिसान बाँकी रहनेछैन।” ट्रम्पले हर्मुज जलसन्धिमा अहिले अमेरिकाको ‘पूर्ण नियन्त्रण’ रहेको र इरानको अर्थतन्त्र धराशायी भइरहेको दाबी समेत गर्नुभयो।
हुथी विद्रोही र क्षेत्रीय समीकरण
यमनका हुथी विद्रोहीहरूले इरानप्रति ऐक्यबद्धता जनाउँदै अमेरिकी सेनालाई आश्रय दिने देशहरूले यसको परिणाम भोग्नुपर्ने चेतावनी दिएका छन्। “आफ्नो भूमिमा अमेरिकी आक्रमणका लागि प्लेटफर्म बनाउने देशहरूले मूल्य चुकाउनुपर्नेछ,” हुथी नियन्त्रित सञ्चारमाध्यमले उल्लेख गरेका छन्।
इरानको दक्षिण-पश्चिमी प्रान्त खुजेस्तानका अधिकारीहरूका अनुसार अहवाज र अगाजारी क्षेत्र नजिक पनि मिसाइल आक्रमणहरू भएका छन्। यस क्षेत्रमा बढ्दो तनावले विश्वव्यापी तेल आपूर्ति र सुरक्षामा गम्भीर असर पर्ने देखिएको छ।