टाइसन फ्युरी र एन्थोनी जोशुवाबीचको ऐतिहासिक भिडन्त न्यूयोर्कमा हुने पक्का

 

न्यूयोर्क । विश्व बक्सिङका दुई महारथी टाइसन फ्युरी र एन्थोनी जोशुवाबीचको बहुप्रतीक्षित ‘हेभीवेट’ भिडन्त न्यूयोर्कको ऐतिहासिक ‘म्याडिसन स्क्वायर गार्डेन’ मा हुने भएको छ।

पूर्व विश्व हेभीवेट च्याम्पियन टाइसन फ्युरीले सामाजिक सञ्जालमार्फत आफ्ना बेलायती प्रतिद्वन्द्वी जोशुवासँगको खेल पक्का भएको पुष्टि गरेका हुन्। खेलको निश्चित मिति तय भइनसके पनि आगामी नोभेम्बरमा यो प्रतिस्पर्धा हुने अपेक्षा गरिएको छ। साउदी अरबको ‘जनरल इन्टरटेनमेन्ट अथोरिटी’ का अध्यक्ष टर्की अलालसिखसँग दुवै खेलाडीले सम्झौता पत्रमा हस्ताक्षर गरिसकेका छन्।

बेलायती बक्सिङ इतिहासकै ठूलो मानिएको यो खेल बेलायत बाहिर हुन लागेकोमा फ्यानहरूले भने असन्तुष्टि जनाएका छन्। फ्युरीले न्यूयोर्कलाई “अवसरको भूमि” भने पनि समर्थकहरूले लन्डनको ‘वेम्बली स्टेडियम’ को सट्टा अमेरिकामा खेल आयोजना गरिएको भन्दै आलोचना गरेका हुन्।

 

३८ वर्षीय फ्युरीले ३६ व्यावसायिक खेल जितेका छन् भने उनको करियरमा सन् २०२४ मा युक्रेनका ओलेक्जेन्डर उस्कसँग मात्र पराजय भोगेका छन्। उस्कसँगको हारपछि डिसेम्बर २०२४ मा सन्यास घोषणा गरेका फ्युरीले जनवरीमा पुनः रिंगमा फर्कने निर्णय गरेका थिए।

यसअघि सन् २०२१ मा पनि यी दुई बेलायती मुक्केबाजबीच भिडन्तको तयारी भएको थियो, तर कानुनी अड्चनका कारण फ्युरीले डियोन्टे वाइल्डरको सामना गर्नुपरेपछि उक्त योजना टरेको थियो।

जोशुवासँगको मुख्य भिडन्तअघि तयारीका रूपमा फ्युरीले गत जुलाईमा थाइल्याण्डको पटायामा भएको खेलमा पोल्याण्डका मारियस वाचलाई पराजित गरेका थिए। विश्वभरका बक्सिङ प्रेमीहरूले अब नोभेम्बरमा हुने यो ‘ब्लकबस्टर’ भिडन्तलाई निकै चासोका साथ पर्खिरहेका छन्।