भोटेकोशी बाढी : महोत्तरीका १३ परिवारमा अझै बलेन चुल्हो, मोबाइलको घण्टी कुर्दै बिते दिनरात

महोत्तरी, १८ भदौ । रसुवाको भोटेकोशीमा गत भदौ १० गते आएको विनाशकारी बाढीले रसुवा र नुवाकोट मात्र होइन, सयौँ किलोमिटर टाढा रहेको महोत्तरीका बस्तीहरूलाई पनि मर्माहत बनाएको छ । बाढीमा परेर महोत्तरीका १३ जना नागरिक अझै सम्पर्कविहीन छन् । आफ्ना प्रियजनको कुनै खबर नपाउँदा ती परिवारमा एक सातादेखि चुल्हो बलेको छैन भने आफन्तका आँखा ओभाएका छैनन् ।

बर्दिबास–३ गौरीडाँडाकी सरिता बिष्टका हातबाट अचेल मोबाइल छुट्दैन । उहाँको आँखा छिनछिनमा मोबाइलकै स्क्रिनमा ठोकिन्छन् । अपर त्रिशूली–१ जलविद्युत् आयोजनामा मेकानिकल इन्जिनियरका रूपमा कार्यरत छोरा सौभाग्य बिष्ट बाढी आएदेखि सम्पर्कविहीन हुनुहुन्छ ।
“बाबुले ‘मामु म ठिकै छु’ भनेर फोन गरिहाल्छ कि भन्ने लाग्छ, त्यसैले मोबाइल एकछिन पनि छाडेकी छैन,” सरिता भक्कानिँदै भन्नुहुन्छ । भदौ १० गते बिहान ९ बजे छोरासँग अन्तिम पटक कुरा भएको थियो । अहिले सौभाग्यका बुबा ध्रुव बिष्ट र आफन्तहरू रसुवामै पुगेर खोजी गरिरहेका छन्, तर कुनै अत्तोपत्तो छैन ।

बर्दिबास–९ पशुपतिनगरका खिलबहादुर राना मगरको पीडा पनि उस्तै छ । अपर त्रिशूली–१ मै कार्यरत छोरी जोया राना सम्पर्कविहीन भएपछि परिवारमा सन्नाटा छाएको छ । तीन छोरीमध्येकी जेठी जोयाकै भरमा परिवार चलेको थियो ।
छोरीको खोजीका लागि खिलबहादुरले आफैँ हेलिकप्टर भाडामा लिएर रसुवा र नुवाकोटका त्रिशूली किनारमा कैयौँ फन्का लगाए, तर रित्तो हात फर्कनुपर्‍यो । “जसमाथि जिन्दगी सुम्पेको थिएँ, उही हराएपछि अब के बाँकी रह्यो र ?” उहाँ बलिन्द्रधारा आँसु झार्दै भन्नुहुन्छ ।

मटिहानी–७ का ४० वर्षीय गङ्गाराम मण्डल काठमाडौँको एक ट्राभल कम्पनीमा भान्से (कुक) का रूपमा कार्यरत हुनुहुन्थ्यो । भदौ ९ गते ‘गोसाइँकुण्ड जाँदैछु’ भनेर फोन गरेका गङ्गाराम त्यसयता सम्पर्कमा छैनन् । पत्नी गुञ्जा मण्डल र चार छोराछोरी उहाँको बाटो कुरेर बसेका छन् । त्यसै गरी, जलेश्वर–७ का हशन अन्सारीका बुबा माजिद अन्सारी पनि छोराको बाटो हेरेर बसिरहनुभएको छ । भदौ १० गतेदेखि नै सम्पर्कविच्छेद भएका हशन एक साताको बिदा लिएर घर आउने तरखरमा हुनुहुन्थ्यो । “घरमा सबैका आँखा टिलपिलाएका छन्, कसैले हशनबारे राम्रो खबर ल्याउला कि भन्ने आशा मात्र बाँकी छ,” माजिदले सुनाउनुभयो ।

महोत्तरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार बाढीपछि महोत्तरीका १९ जना सम्पर्कविहीन भएको निवेदन परेको थियो । तीमध्ये ६ जना परिवारको सम्पर्कमा आइसकेका छन् भने १८ जनालाई सुरक्षित रूपमा उद्धार गरी पठाइसकिएको छ । “अब महोत्तरीका १३ जना सम्पर्कविहीन हुनुहुन्छ । उहाँहरूको खोजी र सम्पर्कको प्रयास निरन्तर भइरहेको छ,” प्रजिअ यादवले भन्नुभयो । जिल्ला प्रशासन कार्यालयले रसुवा र नुवाकोट प्रशासनसँग समन्वय गरी खोजी कार्यलाई तीव्रता दिएको जनाएको छ ।